
अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिम प्रदेशको पहिलो अधिवेशन शनिबार धनगढीमा सम्पन्न भएको छ। अधिवेशनले भक्त राज जोशीलाई सर्वसम्मत रूपमा प्रदेश अध्यक्षमा चयन गर्दै नयाँ नेतृत्व टुंग्याएको छ।

सुदूरपश्चिम प्रदेश सरकारका भूमि, कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संघका केन्द्रीय सदस्य तथा अधिवेशन संयोजक वीरेन्द्र धामीले सभापतित्व गरेका थिए।
औपचारिक सत्रपछि साइबर सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरिएको थियो, जहाँ जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी राजकुमार सिंहले अनलाइन पत्रकारितामा बढ्दो साइबर चुनौती र सुरक्षाका उपायबारे जानकारी दिएका थिए।

अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। समितिमा अध्यक्ष भक्त राज जोशीसँगै अंकित उप्रेती वरिष्ठ उपाध्यक्ष, खेमराज जोशी उपाध्यक्ष, टीकाराम साउद महासचिव, माधव पौडेल सचिव र सरिता चन्द कोषाध्यक्षमा निर्वाचित भएका छन्। सदस्यहरूमा गोविन्द सोडारी, कालुराम चौधरी र सञ्जु महर चयन भएका छन्।

त्यस्तै, कञ्चनपुरका संयोजकमा प्रकाश भट्ट र कैलालीका संयोजकमा दीपक रावल चयन भएका छन्।
नव अध्यक्ष जोशीले अनलाइन पत्रकारितालाई जिम्मेवार, विश्वसनीय र व्यवस्थित बनाउने प्रतिबद्धता जनाउँदै भने, “हामी पत्रकारहरूको क्षमता अभिवृद्धि, साइबर सुरक्षाको सुनिश्चितता र पेशागत हकहितका लागि निरन्तर क्रियाशील रहनेछौँ।”
संयोजक धामीले सुदूरपश्चिममा अनलाइन पत्रकारिताको विकास, मर्यादा र विश्वसनीयता स्थापना गर्न नयाँ कार्यसमिति सक्षम र समर्पित भएर अघि बढ्ने विश्वास व्यक्त गरे।
अधिवेशनमा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट पत्रकार, सञ्चारकर्मी तथा स्थानीय अगुवाहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा अनलाइन पत्रकारिताको भविष्य र चुनौतीबारे गहन छलफलसमेत गरिएको थियो।



















