
अत्तरिया:- कृष्णपुर नगरपालिकामा इपिएस शाखा कार्यालयद्वारा आईतबार आयोजना गरिएको रोजगार अनुमति प्रणाली मार्फत दक्षिण कोरिया जान चाहने नेपाली नागरिकहरुको लागी वैदेशिक रोजगार सम्बन्धी विशेष कार्यक्रममा बोल्दै नगर प्रमुख हेमराज ओझाले हाल दक्षिण कोरियालाई सबैभन्दा राम्रो, सुरक्षित र कम खर्चिलो वैदेशिक रोजगार गन्तव्यको रूपमा टिप्पणी गरेका छन्।

उनले सरकारको जिटूजी (सरकार देखी सरकार ) प्रणालीमार्फत कोरिया जानेलाई विशेष प्राथमिकता दिइएको उल्लेख गर्दै, “यो माध्यमबाट विदेश जान चाहने नेपाली युवाहरूका लागि प्रक्रिया पारदर्शी, सुरक्षित र तुलनात्मक रूपमा सस्तो छ,” भनेर बताए।



नगर प्रमुख ओझाले वैदेशिक रोजगारबाट नेपालमा भित्रने रेमिट्यान्स देशको अर्थतन्त्र धान्ने प्रमुख आधार भएको र त्यसमध्ये दक्षिण कोरियाबाट पठाइने रेमिट्यान्सबाट उच्च मात्रामा राजस्व संकलन भइरहेको जानकारी पनि गराए। “देशको समग्र अर्थतन्त्रमा वैदेशिक रोजगारीले टेवा पुर्याएको र कोरियाबाट पठाइएको रकमको योगदान उल्लेख्य छ,” उनले भने।

ओझाले हाल अमेरिका, अष्ट्रेलिया लगायतका देशमा जाने प्रवृत्तिप्रति नेपाली समाजमा गर्व देखिए पनि ती मुलुकमा जानका लागि नेपालीहरूले ठूलो परिमाणमा सम्पत्ति खर्च गर्नु परेको अवस्थालाई बयान गरे। उनले भने, “आज हामी अमेरिका, अष्ट्रेलिया गएका युवाप्रति गर्व त गर्छौं, तर ती देशमा जान नेपालीले कति सम्पत्ति बेचेर गएका छन् भन्ने कुरा सबैलाई थाहा छ। कतिपय अवस्थामा घरजग्गा बेचेर युवाहरू विदेश जान बाध्य भएका छन्।”
सम्बन्धित समाचार
कृष्णपुर नगरपलिकामा कोरियन रोजगार अनुमति प्रणाली सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
































