
अत्तरिया: वैदेशिक रोजगार विभाग अन्तर्गत ईपिएस कोरियन शाखा, ग्वार्को ललितपुरको आयोजनामा कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ‘कोरियन भाषा परीक्षा मर्यादित, पारदर्शी र निष्पक्ष रूपमा सञ्चालन हुने’ विषयमा जनप्रतिनिधि तथा रोजगार संयोजकहरूसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।

आईतबार आयोजित कार्यक्रममा नगर प्रमुख हेमराज ओझा, प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्ट, स्थानीय जनप्रतिनिधि, रोजगार संयोजक तथा रोजगारीको खोजीमा रहेका युवा सहभागी थिए।

कार्यक्रममा इपिएस कार्यालयका शाखा अधिकृत कमल राज श्रेष्ठले इपिएस ०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार उक्त कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। उनले सन् २००८ देखि नेपाल र दक्षिण कोरियाबीच मैत्रीपूर्ण सम्बन्धका आधारमा ‘जी टु जी’ (सरकार बीच सरकार) प्रणालीमार्फत हरेक वर्ष श्रमिक छनोट कार्यक्रम हुँदै आएको उल्लेख गरे।

उनले हालसम्म एक लाख १३ हजारभन्दा बढी नेपाली नागरिकहरू दक्षिण कोरियामा कार्यरत छन्। उनले दक्षिण कोरियाबाट नेपालमा २० प्रतिशत बराबरको रेमिट्यान्सद्वारा राजश्व प्राप्त हुँदै आएको जानकारी समेत दिए।


श्रेष्ठले कोरियन भाषा परीक्षामा उत्तीर्ण हुनु कोरिया जानको लागि कोरियन भाषा परीक्षा मात्र नभई स्किल टेस्ट, रोस्टर नाम आउने र त्यसपछि रोजगारदाताले छनोट गरेपछि मात्र जान पाइने प्रावधान रहेको बताए। त्यसैले परीक्षामा पास गरेपछि रोस्टरमा बसेर धैर्य गर्नु आवश्यक हुने उनले बताए।

उनले १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका व्यक्तिहरूले मात्र आवेदन दिन पाउने उल्लेख गर्दै, केवल पास भएपछि कोरिया जान पाउने ग्यारेन्टी नहुने स्पष्ट पारे। साथै, आफूले गर्दै आएको पेशा वा व्यवसाय नछोडी संयमित भएर अघि बढ्न सहभागीहरूलाई आग्रह गरे।
सम्बन्धित समाचार
दक्षिण कोरिया अहिलेको रोजगार प्रमुख गन्तव्य बनेको छ : नगर प्रमुख हेमराज ओझा




















