
अत्तरियाः सुदूर पश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयको आयोजना, स्वास्थ्य कार्यालय अछामको समन्वयमा मायामेट्रो हस्पिटलको सहकार्यमा धनगढीस्थित मायामेट्रो हस्पिटलले अछाम जिल्लाको दुर्गम क्षेत्रहरूमा पुगेर आयोजना गरेको दुई दिवसीय विशेषज्ञ स्वास्थ्य शिविरमार्फत सयौं नागरिकलाई निःशुल्क सेवा प्रदान गरेको छ।

स्वास्थ्य शिविर बैशाख २६ गते र २८ गते सम्पन्न भएको हो। बैशाख २६ गते चौरपाटी गाउँपालिकामा सम्पन्न शिविरमा २८६ जनाले सेवा लिएका थिए, जसमध्ये २१५ जना महिला र ७१ जना पुरुष थिए। सोही प्रकार, बैशाख २८ आईतबार ढकारी गाउँपालिकामा आयोजित शिविरमा ११८८ जनाले स्वास्थ्य सेवा लिएका छन्।

शिविरमा महिलामा बढी देखिने स्त्रीरोग, पुरुषहरूमा लुकेको स्वास्थ्य समस्या, मानसिक स्वास्थ्य, मुटु, हाडजोर्नी, नसा र अन्य रोगहरूको जाँच तथा परामर्श दिइएको थियो। शिविरमा धेरैले रोग लुकाएर बसिरहेको र समयमा उपचार नपाएर समस्या बढिरहेको अवस्थामा यस्ता कार्यक्रमहरूले राहत पुर्याएको देखिएको छ।
उक्त शिविर सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय डोटीको आयोजना, स्वास्थ्य कार्यालय अछामको समन्वय, चौरपाटी र ढकारी गाउँपालिकाको सहयोग तथा मायामेट्रो हस्पिटलको सहकार्यमा आयोजना गरिएको हो।
मायामेट्रो हस्पिटलका अध्यक्ष धिरेन्द्र साउदले भने, “हामीले सेवा मात्रै होइन, मानवताको भावना बोकेर स्वास्थ्य सेवा दुर्गमसम्म पुर्याउने प्रयास गरेका छौं। हाम्रो उद्देश्य अस्पतालको प्रमोशनभन्दा पनि जनताको पहुँचमा गुणस्तरीय सेवा पुर्याउनु हो।”
उनले आगामी दिनमा पनि यस्ता शिविरलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका छन्।

साउदले थपे, “अस्पतालको प्रमोशन भन्दा पनि हामी समुदायको साथमा उभिन चाहन्छौं। हामी यसैगरी आगामी दिनमा पनि गाउँगाउँमा पुगेर स्वास्थ्य सेवा पुर्याउनेछौं।”
शिविरले दुर्गम बासिन्दाको स्वास्थ्यमा सचेतना मात्र नभई तत्काल राहत समेत पुर्याएको छ। स्थानीयवासीहरूले यस्ता सेवा अझ धेरै गाउँहरूमा पुगोस् भन्ने आशा व्यक्त गरेका छन्।
यो शिविर सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय डोटीको आयोजनामा, अछामका चौरपाटी र ढकारी गाउँपालिकाको सहयोग र स्वास्थ्य कार्यालय अछामको समन्वयमा मायामेट्रो हस्पिटलको सहकार्यमा सम्पन्न भएको हो।
यस स्वास्थ्य शिविरले दुर्गम क्षेत्रमा स्वास्थ्य पहुँच अभावमा रहेका समुदायमा राहत पुर्याउनुका साथै, भविष्यमा अझ सशक्त र पहुँचयुक्त सेवा प्रवाह गर्नुपर्ने संकेत पनि दिएको छ।
शिविरको उद्घाटन तथा प्रमुख अतिथिको रूपमा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्का सहभागी हुनु भयो। कार्यक्रममा बोल्दै मन्त्री खड्काले, “स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन सरकार निरन्तर क्रियाशील छ। यस्ता शिविरहरूले दुर्गम बासिन्दालाई सहज र गुणस्तरीय सेवा दिन सहयोग गर्छन्,” भन्दै स्थानीय सरकार, स्वास्थ्य कार्यालय र अस्पतालबीचको सहकार्य सराहनीय रहेको बताउनुभयो।
यस शिविरमा मायामेट्रो हस्पिटल धनगढीबाट ख्याती प्राप्त विशेषज्ञ चिकित्सकहरूको टोली सहभागी थियो, जसले विभिन्न रोगहरूको पहिचान, परामर्श र आवश्यक उपचार सेवा प्रदान गरेका थिए। डा. रबिन्द्र देव भट्ट – वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, डा. अजय भट्ट – वरिष्ठ मुटु रोग विशेषज्ञ, डा. रितेश पोखरेल – वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ, डा. दिनेश उपाध्याय – वरिष्ठ मानसिक रोग विशेषज्ञ, डा. सदिक्षा मुलेपती – वरिष्ठ फिजियोथेरापिष्ट, डा. बिरेन्द्र भण्डारी – मेडिकल अधिकृत लगायत अन्य कर्मचारीको उपस्थितिमा शिविरको आयोजना गरिएको थियो ।



























