
युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ता गर्न सहमति जनाउँदै बिहीबार इस्तानबुलमा भेट गर्ने घोषणा गरेका छन्। युद्ध सुरु भएयता दुबै नेताबीच पहिलो पटक हुने यो वार्ता निर्णायक हुने अनुमान गरिएको छ।

जेलेन्स्कीले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “मान्छे मरिरहनु राम्रो होइन। म बिहीबार इस्तानबुलमा पुटिनलाई पर्खिरहेको हुनेछु।”
उनको यो घोषणा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसको सिधा वार्ता प्रस्ताव स्वीकृत गर्न सुझाव दिएपछि आएको हो।


यसअघि जेलेन्स्की युद्धविराम बिना कुनै वार्ता सम्भव नहुने अडानमा थिए। तर शनिबार किभमा बसेको ‘इच्छुकहरूको गठबन्धन’ बैठक र युरोपेली देशहरूको दबाबपछि परिस्थिति फेरिएको हो।
रूसी राष्ट्रपति पुटिनले पनि शनिबार साँझ पहिलो पटक युद्ध अन्त्यका लागि गम्भीर वार्ताको प्रस्ताव सार्वजनिक गरेका थिए। उनले स्थायी शान्तिका लागि यो पहिलो ठोस कदम भएको बताएका छन्।
अब सबैको ध्यान बिहीबार इस्तानबुलमा हुने जेलेन्स्की–पुटिन ऐतिहासिक वार्तातर्फ केन्द्रित भएको छ।





























