
अबदेखि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT) अन्तर्गतका कुनै पनि कार्यक्रमहरूमा भर्ना हुन प्रवेश परीक्षा दिनुपर्ने छैन। परिषद्ले प्रवेश प्रक्रियामा आमूल परिवर्तन गर्दै, एसईई वा एसएलसी र प्रमाणपत्र तहमा प्राप्त ग्रेड प्वाइन्ट एभरेज (GPA) का आधारमा मात्र विद्यार्थी छनोट गर्ने निर्णय गरेको हो।

यसअघि विद्यार्थीहरूले प्रवेश परीक्षा दिई त्यसको आधारमा भर्ना पाइरहेका थिए। तर, अबदेखि परीक्षा नियन्त्रक उमेश मिश्रका अनुसार “सिटिइभिटीका जुनसुकै विषय अध्ययन गर्न प्रवेश परीक्षा आवश्यक छैन।”
उहाँले विगतमा देखिएको चलखेल, गलत सूचना र तयारी कक्षाको नाममा हुने आर्थिक शोषण अन्त्य गर्न नयाँ नीति आवश्यक भएको स्पष्ट गर्नुभयो। कतिपय कन्सल्टेन्सीहरूबाट नाम निकाल्ने भन्दै अतिरिक्त रकम असुल्ने गुनासो बढेपछि प्रवेश प्रणालीमा सुधार गरिएको हो।

नयाँ प्रणाली अनुसार:
-
विद्यार्थीको एसईई वा एसएलसी GPA कै आधारमा योग्यताको क्रम निर्धारण हुनेछ।
-
सरकारी वा सामुदायिक विद्यालयका विद्यार्थीलाई अतिरिक्त १ अंक र संस्थागत विद्यालयका लागि ०.८५ अंक थप गरिनेछ।
-
CTEVT अन्तर्गतका कलेजहरू (६३ आंगिक, ४००+ निजि) मा वार्षिक २५,००० भन्दा बढी विद्यार्थी भर्ना हुने गरेका छन्।
-
अनलाइन फारम भर्ने सुविधा उपलब्ध गराइएको छ।

शिक्षा मन्त्रीको अध्यक्षतामा भएको २०७ औं बैठकले निर्णय गरेको यो नयाँ नीति २०८२/०८३ शैक्षिक सत्रदेखि लागू हुनेछ।
श्रीचितवन कलेजका कार्यकारी अध्यक्ष सरोज ढकालले यो निर्णयलाई स्वागत गर्दै भने, “यो व्यवस्था पारदर्शिता र निष्पक्षताको दिशामा ठुलो कदम हो। अब योग्य विद्यार्थीले मात्र अवसर पाउनेछन्।”
श्रीचितवन कलेजले फार्मेसी, जनरल मेडिसिन, ल्याब टेक्निसियन र रेडियोग्राफीजस्ता कार्यक्रमहरूमा अध्ययनको अवसर प्रदान गर्दै आएको छ। कलेजसँग एक सय शैयाको नेशनल सिटी अस्पताल पनि छ, जसले व्यावहारिक अभ्यासमा समेत योगदान पुर्याउँछ।
































