
अत्तरिया : अन्तर्राष्ट्रिय नर्सिङ दिवस (मे १२) को अवसरमा कैलालीको अत्तरियामा अवस्थित महिला तथा बालबालिका सेभ हाउसमा अति आवश्यक सामग्री सहयोग गरिएको छ । नेपाल नर्सिङ संघ, कैलालीको आयोजनामा गरिएको उक्त सहयोग कार्यक्रमले नर्सिङ पेशाले अस्पताल बाहिर पनि समुदायमा प्रत्यक्ष प्रभाव पार्ने तथ्यलाई उजागर गरेको छ ।

संघले स्वास्थ्य सामग्री, सरसफाइका सामाग्री, खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुहरू प्रदान गरेको हो । कार्यक्रमका प्रमुख उद्देश्य लुकेर रहेका, पहुँचबिहीन बालबालिका र महिलाहरूको जीवनमा राहत पु¥याउनु रहेको संघकी अध्यक्ष यसोदा ढकालले बताइन ।
उनका अनुसार, नर्सहरू हरेक दिन दुःखी, बालबालिका तथा वृद्धबृद्धाहरूको सेवा गर्दै आइरहेका छन् । अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसर पारेर विशेषगरी कमजोर वर्गका व्यक्तिहरूलाई लक्षित गर्दै सहयोगको हात अगाडि बढाइएको समेत बताएकी थिइन् ।
संघकी महासचिव कमला न्यौरेले विगतमा पनि यस दिनलाई नर्सिङ पेशाको सेवाभाव प्रदर्शन गर्ने अवसरको रूपमा उपयोग गर्दै आएको बताइन । उनले भनिन, हामीले आफ्नो दक्षता र स्रोतको उपयोग गरी असहाय र पीडित समुदायलाई निरन्तर सेवा दिँदै आएका छौं । यसपटक महिला तथा बालबालिकाको सहजता सुनिश्चित गर्न सानो सहयोग गरेका हौं ।’ आगामी दिनमा थप सामग्री सहयोग गरिने प्रतिबद्धता समेत गरेकी थिइन् ।


कार्यक्रममा सहभागिता जनाउँदै पदमा अस्पतालका सञ्चालक तथा वरिष्ठ चिकित्सक डा. नरबहादुर मौनीले नर्सहरूको योगदानलाई स्मरण गर्दै भने, नर्सहरूले युद्धको समयमा समेत घाइतेहरूको सेवा गरेका थिए । नर्सहरूले बिरामीको उपचारमा डाक्टरसरहको भूमिका निर्वाह गर्दै आएका छन् ।’
उनले नेपाल नर्सिङ संघ, कैलालीले सेभ हाउसमा देखाएको सेवाभावको उच्च प्रशंसा गर्दै धन्यवाद पनि दिए । यस कार्यक्रमले नर्सिङ पेशाले केवल अस्पतालभित्र सीमित नभई, समुदायमा समेत सकारात्मक परिवर्तन ल्याउन सक्ने सन्देश दिएको उनले बताए ।




















