
सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अति संकटापन्न अवस्थामा पुगेको दुर्लभ चराप्रजाति खरमजुरको गणना गरिएको छ। नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन) र कञ्चनपुर पन्छी संरक्षण समूहले निकुञ्ज कार्यालयको समन्वयमा सात दिनसम्म खरमजुर गणना सम्पन्न गरेका हुन्।

सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार गणना सम्पन्न भइसके पनि रिपोर्ट आउन बाँकी छ। उनका अनुसार, “शुक्लाफाँटा निकुञ्ज कार्यालयको अनुमतिमा बिसिएनले खरमजुरको गणना गरिसकेको छ। यो वर्ष खरमजुरको अवस्था के छ भन्ने विवरण आउन बाँकी छ।”
पछिल्ला वर्षहरूमा पाटेबाघभन्दा पनि दुर्लभ मानिएको खरमजुरको अवस्था गम्भीर बन्दै गएको छ।
गत वर्ष वैशाखमा पहिलो चरणको गणनामा एकवटा पनि खरमजुर नदेखिएको थियो। तर जेठ महिनाको दोश्रो चरणको खोजीमा ‘स्विप एन्ड सर्च’ विधिबाट दुई पोथी र तीन भाले गरी जम्मा पाँचवटा खरमजुर फेला परेका थिए। तीमध्ये चारवटा शुक्लाफाँटाको घाँसे मैदानमा र एकवटा किसान मध्यवर्ती सामुदायिक वन क्षेत्रमा देखिएको थियो।


खरमजुर अत्यन्तै अल्पसंख्यामा रहने, घाँसमा लुकेर बस्ने चराप्रजाति हो। प्रजनन समयको बेला भाले खरमजुरले २०–३० मिटर माथि उफ्रेर नाच्ने अद्भुत व्यवहार देखाउने गर्दछन्। यही समय उनीहरूको प्रजनन याम हो।
नेपालमा शुक्लाफाँटा लगायत सीमित स्थानहरूमा मात्र पाइने खरमजुर सन् २०२१ मा सातवटा र सन् २०२३ मा पाँचवटा मात्र अभिलेख भएका थिए।
यो वर्षको तथ्याङ्क सार्वजनिक नभए पनि विज्ञहरू खरमजुरको अवस्थाप्रति गहिरो चिन्तित देखिन्छन्।



















