
सुदूरपश्चिम प्रदेशमा स्थानीय सेवा ऐनको माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीय तहका कर्मचारीहरूले कार्यालयहरूमा तालाबन्दी गरेपछि जनसेवा ठप्प भएको छ।

आईतबारदेखि सुरु गरिएको आन्दोलनका कारण बैतडीका १० वटै स्थानीय तहसहित प्रदेशभरका पालिका तथा वडा कार्यालयहरूमा अत्यावश्यकबाहेकका सबै सेवा अवरुद्ध भएका छन्।
पुर्चौडी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार कुँवरका अनुसार तालाबन्दीले दैनिक सेवा प्रवाह ठप्प भएको छ। त्यस्तै, पाटन नगरपालिका–४ का हरिष भट्टले आवश्यक कामका लागि नगरपालिका गएका आफूजस्ता धेरै सेवाग्राही काम नगरी रित्तै फर्किनु परेको गुनासो गरे।

कर्मचारीहरू आन्दोलनलाई थप सशक्त बनाउँदै मंगलबार प्रदेश राजधानी धनगढीतर्फ प्रदर्शनका लागि प्रस्थान गरेका छन्। पालिकाहरूले सूचना जारी गर्दै अत्यावश्यकबाहेकका सेवा उपलब्ध गराउन नसकिने जनाएका छन्।

आन्दोलनरत कर्मचारीहरूको भनाइमा, स्थानीय सेवा ऐन अझै नआउँदा वृत्ति विकास, स्थायीत्व, पदोन्नति लगायतका अधिकारबाट वञ्चित भइरहेका छन्।
सूर्नया गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनबहादुर चन्दले भने, “संघीयता कार्यान्वयनमा आइसकेको अवस्थामा पनि सुदूरपश्चिममा ऐन नआउनु गम्भीर समस्या हो।”
देशका अन्य ६ प्रदेशमा ऐन लागू भइसकेको अवस्थामा सुदूरपश्चिम प्रदेश सरकारको ढिलासुस्तीले कर्मचारीहरू आक्रोशित भएका छन्।
दशरथचन्द नगरपालिका–२ का लक्ष्मण बोहराले कामकाज नभएकाले नगरपालिकाबाट कामविहीन फर्किनुपरेको गुनासो गरे।




























