कैलालीमा विपद्‌सँग लड्न तयारी : टीकापुरमा बहुउद्देश्यीय सुरक्षित आश्रयस्थल निर्माण

Image
Nisarga Hospital

कैलाली जिल्लामा आगामी बर्खायामको सम्भावित विपद्‌लाई मध्यनजर गर्दै स्थानीय स्तरमै विपद् पूर्व तयारी सुरु गरिएको छ। प्रत्येक वर्ष बाढी र डुबानको मार झेल्दै आएको यस क्षेत्रमा जीउधनको सुरक्षाका लागि समुदायहरू सक्रिय रुपमा जुटेका छन्।

CP Hospital Dhangadhi

विशेषतः मोहना, पथरैया र कान्द्रा नदीको दोभानमा रहेको टीकापुर नगरपालिका–७ बैदी क्षेत्रमा पूर्व तयारी तीव्र पारिएको हो। यही उद्देश्यले एक करोड २१ लाख रुपैयाँ लागतमा आधुनिक बहुउद्देश्यीय समावेशी सुरक्षित आश्रयस्थल भवन निर्माण गरिएको छ।

उक्त आश्रयस्थल परराष्ट्र मन्त्रालय जापान र वर्ल्ड भिजन जापानको आर्थिक सहयोग, वर्ल्ड भिजन इन्टरनेसनल र सचेत समाजको साझेदारीमा निर्माण गरिएको हो।

nawajiwan

स्थानीय बासिन्दा विष्णुराम जैशीले डेढ कट्ठा जग्गा दान दिएपछि निर्माण कार्यले गति लिएको हो। ५०–६० घरपरिवार अट्ने क्षमताको सो भवन अब विपद्‌को समयमा सुरक्षित बसोबासका लागि प्रयोग हुनेछ।

Attariya Hospital

साथै, बाढी, चट्याङ, हावाहुरी र आगलागी जस्ता विपद्‌को पूर्व सूचना दिनका लागि ७ लाखको लागतमा स्वचालित साइरन जडान गरिएको छ, जसको आवाज २ किलोमिटर टाढासम्म सुन्न सकिने छ।

टीकापुरको बैदी क्षेत्रमा अहिले सम्म तीनवटा सुरक्षित आश्रयस्थल भवन निर्माण भइसकेका छन्, जसमा एक प्रदेश सरकारले निर्माण गरेको थियो। तर अझै पनि सुरक्षित आवास तथा खाद्य भण्डारण संरचना अपर्याप्त रहेको राष्ट्रिय सञ्जाल नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले जानकारी दिए।

उनका अनुसार, अबका दिनमा खाद्य सुरक्षा भण्डार र सुरक्षित आश्रयस्थलको थप विकास गर्नु आवश्यक छ, ताकि बाढी तथा अन्य प्रकोपको बेला स्थानीयले राहत र सुरक्षित बास सहजै पाउन सकून्।