
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथि लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाउने घोषणा गरेका छन्। साउदी अरेबियामा चारदिने मध्यपूर्व भ्रमणका क्रममा ट्रम्पले “अब सिरियाको पुनर्निर्माणको समय आएको” स्पष्ट सन्देश दिएका हुन्।

ट्रम्पले भने, “असद सरकारको पतनपछि सिरियाको अवस्था नयाँ दिशातर्फ उन्मुख छ। प्रतिबन्ध अब बाधा होइन, सहयोगको समय हो।”
सिरियाको बागडोर अहिले राष्ट्रपति अहमद अल सारा सम्हालिरहेका छन्। उनले गत डिसेम्बरमा बशर अल–असदको दशकौंदेखिको सत्तालाई हटाउँदै नेतृत्व सम्हालेका थिए। ट्रम्पको निर्णयलाई अहमद अल साराको कूटनीतिक जितका रूपमा हेरिएको छ।

तर इजरायल भने असद शासन ढलेपछि पनि सिरियामाथि निरन्तर आक्रमण गर्दै आएको छ। अमेरिकाको यो कदम इजरायलका लागि झटकाका रूपमा विश्लेषण गरिँदैछ।

ट्रम्पले सिरियामा वर्षौंको द्वन्द्वले हजारौं निर्दोष नागरिकको ज्यान गएको स्मरण गर्दै भने, “अब परिवर्तनको क्षण हो। असद परिवार हटेपछि सम्बन्ध सुधार्न विश्व समुदायको प्रयास आवश्यक छ।”
अमेरिकी विदेशमन्त्री मार्क रुबियोले पनि आगामी साताको अन्त्यमा टर्कीमा सिरियाली समकक्षीसँग भेटवार्ता तय भएको जनाएका छन्।
ट्रम्पले जोड दिए, “एक समय प्रतिबन्ध अपरिहार्य थियो। तर अब, सिरियालाई नयाँ युगतर्फ अघि बढाउन समर्थन आवश्यक छ।”





























