
धनगढी उपमहानगरपालिका–५ मा बेवारिसे जनावरका लागि ‘एनिमल सेल्टर’ स्थापना गरिएको छ। वडाध्यक्ष गजेन्द्र शाहीको पहलमा बिहीबारदेखि सेल्टर औपचारिक रूपमा सञ्चालनमा आएको हो।

वडाध्यक्ष शाहीका अनुसार, सडकमा छाडा अवस्थामा रहेका कुकुर र अन्य पशुपंक्षीको उद्धार तथा संरक्षण गर्न सेल्टर स्थापना गरिएको हो। उनले जनावरहरूको लागि खाना, पानी र छानाको व्यवस्था गरिएको जानकारी दिए।

विशेष उल्लेखनीय कुरा के छ भने, वडाध्यक्ष शाहीले आफ्नै विवाह खर्च कटौती गरी यो समाजसेवी कार्य थालेका हुन्। उनले जनावरप्रति दया, सहानुभूति र उत्तरदायित्वबोधबाट प्रेरित भई एनिमल सेल्टर स्थापना गरेको बताएका छन्।

सेल्टरमा कुकुरसहित अन्य सडक पशुचौपाया तथा पशुपंक्षीका लागि समेत खाना र आश्रयको व्यवस्था मिलाइएको जनाइएको छ।


















