
कैलालीको गोदावरी नगरपालिका वडा नं. १ मा आजदेखि ४५ दिने व्युटिसियन अपग्रेड तालिम सुरु गरिएको छ। तालिमको उद्घाटन गोदावरी नगरपालिका का नगर प्रवक्ता तथा वडा अध्यक्ष गोपाल दत्त भट्ट, रोजगार संयोजक रोहित जोशी, रक्षा फुलारा सँगै प्रशिक्षक कमला गुरुङ लगायत प्रशिक्षार्थी को उपस्थितिमा तालिमको शुभारंभ भएको छ ।

उक्त तालिम सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत व्यवसायिक तथा सीप विकास तालिम केन्द्र धनगढी, कैलाली र गोदावरी नगरपालिका नगर कार्यपालिकाको कार्यालयको सहकार्यमा निःशुल्क रूपमा सञ्चालन गरिएको हो। तालिम २०८२ साल जेठ १ गतेदेखि असार १५ गतेसम्म सञ्चालन हुनेछ, जसअन्तर्गत सहभागीहरूले २२५ कार्यघण्टा तालिम प्राप्त गर्नेछन्।

तालिमको सञ्चालन गोदावरी नगरपालिकाको तर्फबाट गरिएको हो भने योजना व्यवसायिक तथा सीप विकास तालिम केन्द्र, धनगढीले गरेको हो। प्रशिक्षक कमला गुरुङसहित विभिन्न विज्ञ व्यक्तिहरूको उपस्थिति तालिममा रहनेछ।

“आज सुरु भएको व्युटिसियन अपग्रेड तालिमले गोदावरी नगरपालिकामा रोजगारीको क्षेत्रमा नयाँ ढोका खोल्ने विश्वास लिएको छु। यस तालिममार्फत महिलाहरूले आत्मनिर्भर बन्ने, आफ्नै व्यवसाय सुरु गर्ने वा रोजगारी प्राप्त गर्ने अवसर पाउने जनकारी गोदावरी नगरपालिका का रोजगार संयोजक रोहित जोशीले बताएका छन्।
गोदावरी नगरपालिका रोजगार प्रवर्द्धनमा सक्रिय रूपमा लागेको छ। हामी सीपयुक्त जनशक्ति तयार पार्न प्रतिबद्ध छौं। सुदूरपश्चिम प्रदेश सरकार, सीप विकास तालिम केन्द्र, र नगर कार्यपालिकाबीचको सहकार्यले यसरी प्रभावकारी तालिम सञ्चालन गर्न सम्भव भएको हो।



वडा अध्यक्ष गोपाल दत्त भट्टले उद्घाटन कार्यक्रममा भने:
“यो तालिमले हाम्रो नगर क्षेत्रका महिलाहरूलाई आत्मनिर्भर र स्वरोजगार बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ। व्यावसायिक सीपको विकासमार्फत रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य हामीले लिएका छौं। यस्ता तालिम निरन्तर सञ्चालन गरिनुपर्ने आवश्यकता छ, जसले सामाजिक तथा आर्थिक सशक्तिकरणमा टेवा पुर्याउँछ।”




























