
नेपाल खानेपानी संस्थानले वितरण गर्ने पानीमा कोलिफमजस्ता दिशाजन्य प्रदूषक भेटिएको खुलासा भएको छ। धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रका विभिन्न वडाबाट संकलन गरेको ४५ नमुनाको परीक्षण गर्दा अधिकांश धारो, डिप बोरिङ र ट्याङ्कीको पानीमा कोलिफम भेटिएको हो।

स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीका अनुसार जुगेडास्थित खानेपानी संस्थानको मूल टंकीबाट वितरण हुने पानीमा दुईपटक गरिएको परीक्षणमा कोलिफम फेला परेको छ। पहिलो परीक्षणमा ४ सीएफयू र दोस्रो परीक्षणमा २ सीएफयू कोलिफम देखिएको हो।

खानेपानी संस्थानको मुख्य ट्याङ्कीबाहेक वडा नं. १७ को स्वास्थ्य केन्द्रको आर्टिजन र वडा नं. १८ को वडा कार्यालयको हातेपम्पको पानीमा प्रति १०० एमएलमा १०० सीएफयू कोलिफम फेला परेको छ, जुन अत्यन्तै खतरनाक मानिन्छ।
वडा नं. १६ को विद्यालयको डिप बोरिङमा १० सीएफयू, वडा नं. १४ को स्वास्थ्य केन्द्रको फिल्टर पानीमा ४० सीएफयू, र वडा नं. १९ को स्वास्थ्य चौकीको हातेपम्पमा २० सीएफयू कोलिफम भेटिएको छ।

फुटेको पाइपलाइन समयमै मर्मत नगर्दा, धारो सफा नगर्दा तथा पानी राख्ने भाँडोको सरसफाइ नहुँदा कोलिफम फैलिएको देखिएको छ। बेहडाबाबा टंकीको पानी शुद्ध भए पनि मन्दिरको धारोमा ५ सीएफयू कोलिफम भेटिएको छ।
नेपाल खानेपानी संस्थानसँग क्लोरिनेसन गर्ने तालिम प्राप्त जनशक्ति नै नभएको पाइएको छ। नियमित क्लोरिन नहालेका कारण पानीमा जीवाणु प्रशस्त भएको स्वास्थ्य शाखाको भनाइ छ।
सेफ्टी टंकी र नलको दूरी ५० फिट हुनुपर्ने मापदण्ड भए पनि अधिकांश ठाउँमा दूरी कायम नभएकाले मलजन्य प्रदूषण पानीमा मिसिएको हो।
धनगढीमा सुरक्षित खानेपानीको गम्भीर संकट देखिएको छ। कोलिफमको उपस्थिति जनस्वास्थ्यका लागि खतराको संकेत हो। खानेपानी प्रणालीमा तत्काल सुधार, पाइपलाइन मर्मत, क्लोरिनेसन र जनशक्ति तालिम अपरिहार्य भएको विज्ञहरूले चेतावनी दिएका छन्।
































