
नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा पुनः खगराज भट्ट चयन भएका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा १६ महिनापछि भट्ट दलको नेतृत्वमा फर्किएका हुन्।

डडेल्धुरामा आयोजित विशेष बैठकमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष नन्दकिशोर पुन, महासचिव देव गुरुङ, उपमहासचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरीराजमणि पोखरेललगायत शीर्ष नेताहरू सहभागी थिए। यो अवसर माओवादी केन्द्रले सञ्चालन गरिरहेको मध्य पहाडी लोकमार्ग अभियानसँगै समायोजित गरिएको थियो।
२०८० माघ १२ गते भट्टलाई हटाएर मानबहादुर धामीलाई संसदीय दलको नेता बनाइएको थियो। त्यसयता दलभित्रको विवाद गहिरिँदै आएको थियो। पार्टी नेतृत्वको पटक–पटक निर्देशन हुँदाहुँदै पनि समाधान नहुँदा अन्ततः अध्यक्ष प्रचण्ड आफैं डडेल्धुरा पुगेर विवादको अन्त्य गरे।


उपमहासचिव पोखरेलका अनुसार सबै सांसदहरूको उपस्थितिमा सर्वसम्मत निर्णयबाट दलको नेतृत्व फेरिएको हो। बैठकले अध्यक्ष प्रचण्डको निर्देशनअनुसार निर्णय गरेको स्पष्ट गरिएको छ।
यो फेरबदलले सुदूरपश्चिममा माओवादी नेतृत्वभित्र देखिएको असमझदारी अन्त्य गर्दै एकताको सन्देश दिएको छ। राजनीतिक सन्तुलन र आगामी रणनीति स्पष्ट गर्न भट्टको पुनरागमनलाई महत्त्वपूर्ण संकेतको रूपमा हेरिएको छ।




























