
अत्तरिया: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डोटीलाई सुदूरपश्चिम प्रदेशको राजधानी बनाउन गरिएको प्रयास असफल भएको स्वीकार गरेका छन्।

‘जनतासँग माओवादीः मध्य पहाडी लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत डोटी पुगेका प्रचण्डले डोटीलाई राजधानी बनाउने उद्देश्य असफल हुनुको कारण ‘अखण्ड सुदूरपश्चिम’ नारालाई ठहर गरे।
“शान्ति सम्झौतापछि संविधान सभाको निर्वाचन अघि म डोटी आएको थिएँ। त्यतिबेला डोटीलाई राजधानी बनाउने प्रतिबद्धता थियो। तर, अन्ततः त्यो सम्भव भएन र राजधानी कैलाली (धनगढी) सरेको हो,” प्रचण्डले भने।
उनले ‘अखण्ड सुदूरपश्चिम’को नाराले डोटीको अधिकार कुण्ठित भएको स्पष्ट पारे। “अखण्ड सुदूरपश्चिम भन्ने शब्द मिठो लाग्छ, तर यही नाराले डोटीको औचित्य र अधिकार दबिएको हो भन्ने कुरा बुझ्न जरुरी छ,” उनले उल्लेख गरे।
प्रचण्डले डोटीको समृद्धिको लागि खुटिया–दिपायल–चैनपुर फास्ट ट्र्याकलाई ‘लाईफलाइन’को रूपमा उल्लेख गरे। उनले यो मार्ग आफ्नो प्रधानमन्त्रीत्वको समयमा प्रस्ताव भएको स्मरण गर्दै निर्माण कार्य तीव्र रूपमा सम्पन्न गर्नुपर्नेमा जोड दिए।
“यो मेरो कार्यकालमा प्रस्ताव गरिएको फास्ट ट्र्याक हो। अहिले निर्माण कार्य भइरहेको छ र हामीले निरीक्षण पनि गरेका छौँ। यो छिटो सम्पन्न गर्न जरुरी छ,” उनले भने।




























