
बैतडीः बैतडीको दोगडाकेदार गाउँपालिका–२ स्थित बनियाँ गाउँका बासिन्दा पाँच वर्षदेखि एक जर्किन पानीका लागि दिनभरि भौँतारिन बाध्य छन्। गाउँका पानीका परम्परागत स्रोतहरू सुकेपछि सुरु गरिएको लिफ्ट खानेपानी योजना बजेट अभावले अधुरै छोडिँदा बासिन्दा काकाकुल बनेका हुन्।

बणियाँका चार टोल—कणेली, ढाँण, पातली र बणियाँमा करिब १ हजार घरधुरी पानीको चरम अभावमा छन्। स्थानीय उपभोक्ता देवराज जोशीका अनुसार एक जर्किन पानीका लागि बासिन्दाहरू घण्टौँ उकाली–ओराली गर्न बाध्य छन्।
सुदूरपश्चिम प्रदेश सरकारले पाँच वर्षअघि तीन करोड ९६ लाख रुपैयाँको लागतमा लिफ्ट खानेपानी योजना सुरु गरे पनि बजेट नआउँदा योजना पूरा हुन सकेको छैन। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीमार्फत कार्यान्वयन भइरहेका योजनाका चार स्किममध्ये तीन स्किम लिफ्ट प्रणालीका हुन्। विद्युत्का पोल गाड्ने र तार तान्ने काम भए पनि परियोजना अलपत्र परेको हो।

डिभिजन कार्यालय बैतडीका प्रमुख गोविन्दप्रसाद देवकोटाले बजेटको अभाव र हरेक वर्ष थपिने नयाँ योजनाले पुराना योजना थन्किने गरेको बताए। “प्रदेशबाटै नयाँ योजना तोकेर पठाइन्छ, त्यसै अनुसार काम भइरहेकाले अलमल भएको हो,” उनले भने।

स्थानीय केशव भाटका अनुसार योजना राजनीतिक पहुँचअनुसार बजेट पाउँदा बनियाँवासी अन्यायमा परेका छन्। “पाँच वर्षदेखि योजना अलपत्र छ, पानी नपाएर भोकै बस्नुपर्ने अवस्था आएको छ,” उनले दुखेसो गरे।
सडक निर्माणको नाममा जथाभावी डोजर चलाउँदा पानीका मुहान सुक्न थालेका छन्। यसैका कारण परम्परागत कुवा, न्वालो र पँधेरा सुक्दै जाँदा जिल्लामा एक सयभन्दा बढी लिफ्ट खानेपानी योजना सञ्चालनमा छन्। चालु र विगत आर्थिक वर्षमा मात्रै थप ५१ वटा नयाँ लिफ्ट योजनाको काम सुरु भएको छ।
खानेपानीको अभाव सुदूरपश्चिममा जलवायु परिवर्तन, अनियन्त्रित सडक निर्माण र डढेलोका कारण अझ गहिरिँदै गएको देखिन्छ।
















