
अत्तरियाः गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले भूमिहीन नागरिकहरूलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु भइसकेको घोषणा गरेका छन्। आइतबार वडा नं. १० मा आयोजित वडा भेलामा बोल्दै उनले भूमि आयोगको कार्यालय गोदावरीमै स्थापना भइसकेको र सोही कार्यालयमार्फत लालपुर्जा वितरणको काम हालैदेखि तीव्र गतिमा अगाडि बढेको जानकारी गराए।

नगरप्रमुख भट्टका अनुसार, यसअघि अत्यधिक राजश्वका कारण वितरण प्रक्रिया अवरुद्ध भएको थियो। “गोदावरी नगरपालिका पहिलो पालिका हो जसले भूमि आयोगमा राजश्व दर घटाउन आग्रह गरेको हो,” उनले भने। अब खेतीयोग्य भूमिका लागि ५% र आवासीय भूमिका लागि १०% मात्र राजश्व तिर्नुपर्ने व्यवस्था गरिएको उनले जानकारी दिए।


३५ दिने अन्तिम सूचना
लालपुर्जा वितरण प्रक्रियामा अझै कोही नागरिक छुटेका भए अन्तिमपटक ३५ दिने सूचना जारी गरेर समावेश गरिने व्यवस्था मिलाइएको भट्टले बताए। यस कदमले भूमिहीनहरूलाई राहत मिल्ने विश्वास उनले व्यक्त गरे।
नगरप्रमुख भट्टले गोदावरीलाई समृद्ध र आत्मनिर्भर नगर बनाउने दृढ संकल्प दोहोर्याए। “हामी योजना, कार्यक्रम र संरचनात्मक विकासमा पूर्ण प्रतिबद्धताका साथ लागिरहेका छौं,” उनले भने।
छाडा पशु नियन्त्रण र कृषकको सुरक्षा
कृषकका बाली र श्रम छाडा पशुबाट जोगाउन नगरपालिका विशेष पहलमा रहेको बताउँदै नगरप्रमुख भट्टले भने, “कृषकको श्रम, पसिना र लगानीको संरक्षण हाम्रो कर्तव्य हो। यसले कृषिमा आत्मविश्वास बढाउनेछ र आम्दानीमा प्रत्यक्ष वृद्धि हुनेछ।”


गोदावरी नगरपालिकामा सबै वडामा समान रूपले बजेट विनियोजन गरिएको स्पष्ट गर्दै नगरप्रमुख भट्टले वडास्तरीय भेलाबाट प्राप्त जनसुझावलाई आधार बनाएर योजनाबद्ध विकास अघि बढाइने बताए। “स्थानीय सरकार जनताको नजिकको सरकार हो। समस्या परेमा पहिले यही सरकारसँग गुहार गर्नुपर्छ,” उनले भने।
नगर प्रमुख भट्टले विकासका कार्यक्रमहरू कागज र चिया पसलको गफमा सीमित हुनु नहुने भन्दै नागरिक स्वयं सहभागिता जनाउनुपर्नेमा जोड दिए। “नगरवासी सल्लाह, सुझाव दिन नगरपालिकामा आउनुपर्छ, छलफलमा सहभागी हुनुपर्छ,” उनले आग्रह गरे।
‘एक वडा, एक खेल मैदान’ अभियान
युवा लक्षित कार्यक्रम अन्तर्गत ‘एक वडा, एक खेल मैदान’ अभियान अघि बढाइएको र प्राथमिक क्षेत्र पहिचान गर्न क्लबहरूसँग समन्वय भइरहेको जानकारी पनि नगरप्रमुखले दिए। “सबैलाई छुट्टाछुट्टै बजेट दिन सम्भव छैन, त्यसैले समन्वित रूपमा खेलमैदान निर्माणमा ध्यान केन्द्रित गरिएको छ,” उनले स्पष्ट पारे।

“जनप्रतिनिधिले सबै कुरा गर्न सक्दैन, तर पारदर्शिता, समन्वय र प्रतिबद्धताका साथ काम गर्न सक्छ,” भन्दै उनले जनविश्वासको सम्मानमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए। “नगरवासीको टाउको निउरिने काम म कहिल्यै गर्दिन,” भट्टको अठोट थियो।






























