
अत्तरिया : गोदावरी नगरपालिका वडा नं. १२ को वडा भेलामा वडाध्यक्ष भीम बहादुर खड्काले ओलानी क्षेत्रको समग्र विकास तीव्र गतिमा अघि बढिरहेको बताएका छन्। उनले विगतमा सडक, खानेपानी, बिजुली र सिंचाइ जस्ता आधारभूत सुविधाको अभावमा रहेको ओलानीलाई परिवर्तन गर्न आफू निर्वाचित भएदेखि निरन्तर प्रयासरत रहेको बताए।


“१२ नं वडा यति दुर्गम थियो कि बिरामीलाई डोकामा बोकेर उपचारका लागि लैजानुपर्थ्यो। अहिले त्यस्तो अवस्था अन्त्य गर्दै वडामा स्वास्थ्य चौकी स्थापना गरिएको छ, शिक्षा क्षेत्रमा सुधार गरिएका छन्, विद्युत् विस्तार भइसकेको छ र खानेपानी नपुगेका बस्तीहरूलाई लिस्टिङ गरेर शुद्ध पानीको पहुँचमा ल्याइएको छ, उनले भने
वडाध्यक्ष खड्काले वडाभेलामा वडावासीहरूबाट प्राप्त सुझावहरूलाई अक्षरसः पालना गर्ने प्रतिबद्धता जनाए। साथै, उनले आगामी दुई वर्ष वडावासीहरूको सहकार्य र सल्लाहअनुसार वडाको समुन्नत विकासका लागि निरन्तर काम गर्ने विश्वास व्यक्त गरे।































