
अत्तरिया: गोदावरी नगरपालिका वडा नं ८ को मझगाउँ थारु संग्रहालयले गोदावरी नगर प्रमुख बिरेन्द्र भट्टलाई थारु समुदायको भाषा, संस्कृति, भेषभूषा र परम्परागत प्रणालीको संरक्षण र प्रवर्द्धनका लागि विभिन्न माग समेटिएको ज्ञापनपत्र बुझाएको छ।

वडा नं ८ मा आयोजित वडा भेलाको अवसरमा उक्त ज्ञापनपत्र थारु कल्याणकारिणी सभा गोदावरी नगर समिति, नगरस्तरीय बरघर भल्मन्सा समिति, र मझगाउँ थारु सामुदायिक होमस्टे समितिको संयुक्त पहलमा बुझाइएको हो।
ज्ञापनपत्रमा मझगाउँस्थित थारु संग्रहालयको प्रांगणमा विगत १४ वर्षदेखि माघ महोत्सव आयोजना हुँदै आएको उल्लेख गरिएको छ। प्रारम्भमा पूर्व श्रीपुर गाविसस्तरीय रूपमा सुरु भएको महोत्सव पछिल्ला ९–१० वर्षदेखि गोदावरी नगरस्तरीय रूपमा मनाइँदै आएको छ। सो महोत्सवले स्थानीय कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउँदै आएको जनाइएको छ।


थारु समुदायमा परापूर्वकालदेखि चलिआएका भल्मन्सा, सुढेनी, गुरुवा, वैदुवा जस्ता परम्परागत प्रथाहरूको संरक्षण गर्दै तिनलाई कानुनी मान्यता दिने र व्यवस्थापन गर्ने माग पनि ज्ञापनपत्रमा समावेश गरिएको छ।
साथै, माघ महोत्सवका लागि बजेट विनियोजन गर्न तथा थारु संग्रहालय र मझगाउँ थारु सामुदायिक होमस्टेको प्रवर्द्धनमा आवश्यक सहयोग गर्न नगरपालिकासँग आग्रह गरिएको छ।




























