
अत्तरिया: गोदावरी नगरपालिका वडा नं. ७ को नवौं वडा भेला मंगलबार वडाको कार्यालय प्रांगणमा भव्य रूपमा सम्पन्न भयो। वडाध्यक्ष कलावती साउदको अध्यक्षतामा सम्पन्न भेलामा नगरप्रमुख विरेन्द्र भट्ट प्रमुख अतिथि र उप–प्रमुख शारदा देवी रोकाया विशिष्ट अतिथि थिए।


वडाध्यक्ष साउदले आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित नीति, कार्यक्रम र ८६ लाख १० हजार ७८० रुपैयाँको बजेट सार्वजनिक गर्दै चालु वर्षमा वडाले १० लाख ९५ हजार १८० रुपैयाँ राजस्व संकलन गरिसकेको जानकारी दिइन्।


प्रस्तावित बजेटमा भौतिक पूर्वाधारतर्फ ५४ लाख १० हजार, सामाजिक र आर्थिक विकासतर्फ १०–१० लाख, सुशासन तथा संस्थागत विकासतर्फ १० लाख र विपद् व्यवस्थापनमा २ लाख विनियोजन गरिएको छ। साथै, ठूला पूर्वाधार योजनाका लागि तीनै तहका सरकारसँग समन्वय गरिने बताइएको छ।

नीति तथा कार्यक्रमहरू कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटन, जलवायु, ऊर्जा, सरसफाइ, महिला तथा बालकल्याणदेखि पूर्वाधारसम्मका क्षेत्रमा केन्द्रित छन्। वडाले बेरोजगार युवा लक्षित कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको बताएको छ।

भेलामा राजनीतिक दल, सामाजिक संस्था, बुद्धिजीवी, महिला, युवा र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।



















