
अत्तरिया : बझाङको थलारा गाउँपालिकाकी चन्द्रा आचार्य कैलालीको अत्तरियामा डेरा गरी बस्दै आएकी थिइन्। गर्भवती अवस्थामा रहेको बेला मंगलबार बिहान गोदावरी नगरपालिका–१ को गृहेश्वरी टोलस्थित डेराबाट मालाखेती अस्पताल जान भन्दै एक्लै निस्किएकी उनी बाटोमै सुत्केरी भइन्।

आचार्य बसन्तपुर क्षेत्रमा सडकमा छटपटाइरहेको अवस्थामा फेला परेपछि स्थानीयले इलाका प्रहरी कार्यालय मालाखेतीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी चौकी खैरानाबाट वरिष्ठ प्रहरी हवल्दार धर्मानन्द भट्ट र प्रहरी जवान चन्द्रिका देउवा घटनास्थलतर्फ खटाइएका थिए।
प्रहरी पुग्दा चन्द्रालाई सुत्केरी व्यथाले च्यापिरहेको थाहा पाएपछि तुरुन्तै एम्बुलेन्सको व्यवस्था गर्न खोजिएको थियो। तर एम्बुलेन्स आइपुग्नु अघि नै उनले सडकमै शिशुलाई जन्म दिइन्।

वरपरका स्थानीयले छुन मानन्। तर प्रहरी जवान चन्द्रिका देउवाले जिम्मेवारीपूर्वक अग्रसरता देखाउँदै नवजात शिशुलाई सुरक्षित बनाइन्। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

प्रहरी जवान चन्द्रिकाले भनिन्, ‘हामी त्यहाँ पुग्दा उनी निकै पीडामा थिइन्। एम्बुलेन्स बोलाउँदै गर्दा उनले सडकमै शिशु जन्माइन्। त्यसपछि मैले आमा र शिशुलाई सुरक्षित बनाएर अस्पताल पठाएको हुँ।’
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दका अनुसार सुरुमा उक्त महिला बेवारिसे जस्तै देखिएकी थिइन्। तर पछि बुझ्दा उनी अत्तरियामै डेरा गरेर बस्ने बझाङकी चन्द्रा आचार्य भएको खुलेको हो। डीएसपी चन्दले भने, ‘सुत्केरी व्यथाले च्यापेपछि अस्पताल जान भन्दै कोठाबाट निस्किएकी थिइन्। तर बाटोमै शिशु जन्मिएको रहेछ।’
हाल चन्द्रा आचार्य र नवजात शिशुलाई अत्तरियास्थित पद्यमा अस्पतालमा राखिएको छ। दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ। चन्द्राका श्रीमान डम्बर जोशी रोजगारीको सिलसिलामा भारतमा रहेका भए पनि अहिले सम्पर्कमा आइसकेका छन्।


















