
पाकिस्तानको बलुचिस्तान प्रान्तस्थित खुजदारमा बुधबार बिहान स्कुल बसलाई लक्षित गर्दै गरिएको विस्फोटमा तीन बालबालिकासहित पाँच जनाको ज्यान गएको छ । घटनामा दुई दर्जनभन्दा बढी घाइते भएका छन् ।

खुजदारको जिरो पोइन्ट क्षेत्रमा स्कुलतर्फ जाँदै गरेको बसमा विस्फोट हुँदा बस पूर्णरूपमा ध्वस्त भएको छ । नजिकैको कारमा समेत क्षति पुगेको छ । बसमा करिब ४० जना बालबालिका रहेको प्रहरी स्रोतले जनाएको छ ।

खुजदार क्यान्टको स्कुलका विद्यार्थी बोकेको बसलाई लक्षित गरिएको बताइएको छ । घटनाको जिम्मा अहिलेसम्म कसैले लिएको छैन ।

प्रहरीले आक्रमण रिमोट कन्ट्रोल विस्फोट हो वा आत्मघाती भन्ने विषयमा पुष्टि नभएको जनाएको छ । घटनाको अनुसन्धान र प्रमाण संकलन भइरहेको अधिकारीहरूले जनाएका छन् ।


















