
बैतडीको पाटन नगरपालिका–८ का विभिन्न स्थानमा चितुवाको आतङ्क बढ्दो छ। किसानहरूले पालेका घरपालुवा पशुचौपायामा चितुवाले आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित बनेका छन्।

सोमबार राति स्थानीय सुरेश बिष्टको गोठमा पसेको चितुवाले तीनवटा बाख्रा मारेको वडाध्यक्ष हरिश बिष्टले जानकारी दिए। उनका अनुसार गाई, बाख्रा लगायतका पशुचौपाया बाँधिएको गोठमा चितुवा पसेर निरन्तर क्षति पुर्याइरहेको छ।
“दिनहुँजसो चितुवाले पशुचौपायामा क्षति पुर्याइरहेको छ,” वडाध्यक्ष बिष्टले भने, “नियन्त्रणका लागि डिभिजन वन कार्यालयसँग समन्वय भइरहेको छ।”


चितुवाको आक्रमण पाटन नगरपालिका–८ मा मात्र सीमित छैन। वडा नं २ मा एक महिना अघिमात्र चितुवाले खोरभित्र पसेर आठवटा बाख्रा मारेको थियो। यस्तै, केही दिनअघि वडा नं १० को मटेमा गोठभित्र पसेर गाईको बाच्छो समेत मारेको थियो।
पशुचौपायामा चितुवाको निरन्तर आक्रमणपछि स्थानीयवासीले त्रासको वातावरणमा बस्नुपरेको बताएका छन्। वन विभाग र स्थानीय निकायबीच तत्कालीन रूपमा नियन्त्रण र सुरक्षाका उपायहरू खोज्न माग बढ्दो छ।


















