
कृष्णपुर नगरपालिकामा हाल जारी शिक्षक दरबन्दी मिलान तथा शैक्षिक सुधार अभियानलाई नेकपा (माओवादी केन्द्र) ले समर्थन जनाउँदै नगर प्रमुखको निर्णयलाई स्वागत गरेको छ। माओवादी नगर इन्चार्ज दिपक खत्री (निर्माण) नेतृत्वको प्रतिनिधिमण्डलले नगर प्रमुखसँग भेट गरी उक्त निर्णय शैक्षिक गुणस्तर सुधारको दिशामा महत्वपूर्ण कदम भएको बताउँदै बधाई दिएको हो।

माओवादी केन्द्रले आइतबारसम्म दरबन्दी मिलान प्रक्रिया निष्पक्ष, पारदर्शी र न्यायसंगत ढंगले सम्पन्न गर्न जोड दिँदै कुनै पनि राजनीतिक हस्तक्षेप भए कडा प्रतिवाद गरिने चेतावनी दिएको छ।
इन्चार्ज खत्रीले नगर प्रमुखको नेतृत्वमा चालिएको निर्णय सही दिशामा रहेको उल्लेख गर्दै शैक्षिक सुधार अभियानमा माओवादीको निरन्तर समर्थन रहने स्पष्ट पारे। “हाम्रा छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा” भन्ने नारालाई आधार बनाएर माओवादीले विगतमा पनि यस्ता सुधारका पक्षमा निरन्तर आवाज उठाउँदै आएको जनाएको छ।


विद्यालय व्यवस्थापन समिति, अभिभावक संघ, समाजसेवी तथा बुद्धिजीवीहरूले समेत सुधार अभियानको समर्थन गरेका छन्। विद्यालय व्यवस्थापन महासंघका तर्फबाट सुरेन्द्र धामी नेतृत्वको टोलीले दरबन्दी मिलान र सुधार कार्यक्रमलाई सकारात्मक रूपमा अघि बढाउने धारणा राखेको छ।
त्यसैबीच, केही शिक्षा विरोधी तत्वहरूले मिडियामार्फत भ्रम फैलाउने प्रयास गरेकोप्रति माओवादी केन्द्रले आपत्ति जनाउँदै यस्तो गतिविधि सामुदायिक विद्यालयको सुधार प्रयासमा घातक हुने चेतावनी दिएको छ। पार्टीले सबै पक्षलाई सहयोगी भूमिका निर्वाह गर्न अपिल गरेको छ।
माओवादी केन्द्रले सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले अझै स्पष्ट धारणा नदिएकोप्रति चिन्ता व्यक्त गर्दै एमालेको खुला विरोधलाई सामुदायिक विद्यालयप्रतिको दोहोरो चरित्रका रूपमा व्याख्या गरेको छ। पार्टीले दरबन्दी मिलान निष्पक्ष रूपमा सम्पन्न गरी शिक्षा सुधार प्रयासलाई तत्काल कार्यान्वयनमा लैजान नगरपालिकालाई आग्रह गरेको छ।


















