
गोदावरी नगरपालिका वडा नम्बर ६ मा रहेको सुनगाभा मन्टेसोरीले मानवता र सेवाभावका लागि उल्लेखनीय कार्य गर्ने प्रहरी जवान चन्द्रिका देउवालाई सम्मान गरेको छ।

प्रहरी जवान देउवाले गोदावरी नगरपालिका–१ को बसन्तपुरमा मंगलबार सडकमा सुत्केरी व्यथाले छटपटाइरहेकी बझाङको थलारा गाउँपालिकाकी चन्द्रा आचार्यलाई सुरक्षित रूपमा प्रसूति गराउन सहयोग गरेकी थिइन्। देउवाको सहयोगमा आचार्यलाई पद्मा अस्पतालसम्म सुरक्षित रूपमा पुर्याइएको थियो।

उक्त सराहनीय कार्यको कदर गर्दै सुनगाभा मन्टेसोरीका प्रिन्सिपल दीर्घ बहादुर साउदले देउवालाई बिहीबार नगद पुरस्कारसहित सम्मान गरेका हुन्। उनले सुत्केरी महिलाको ज्यान जोखिममा परेको अवस्थामा तत्काल पहल गरेर महिला र नवजात दुवैलाई जोगाउन सफल भएको कारण देउवालाई सम्मान गरिएको बताए।



















