
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी कम्पनी निप्पन स्टिल र अमेरिकी युएस स्टिलबीच सहकार्य हुने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले उक्त स्टिल संयन्त्र पेनसिलभानियाको पिट्सबर्गमा निर्माण हुने जनाएका छन्। उनको दाबी अनुसार, यस परियोजनाबाट करिब १४ अर्ब अमेरिकी डलर लगानी हुने र ७० हजार रोजगारी सृजना हुनेछ।

ट्रम्पले अर्को साता स्टिल प्लान्टको स्थलगत निरीक्षण गर्ने तयारी गरेका छन्। उल्लेखनीय छ कि यो सहमति पहिलोपटक सन् २०२३ को डिसेम्बरमा गरिएको थियो। तर त्यसयता आन्तरिक तथा अन्तर्राष्ट्रिय राजनीतिक विवादका कारण यो सहकार्य आलोचनाको घेरामा पनि परेको थियो।
अप्रिलमा ट्रम्प प्रशासनमा सो सहकार्यविरुद्ध उजुरी परेका थिए। विदेशी कम्पनीको संलग्नताले राष्ट्रिय सुरक्षामा प्रभाव पार्न सक्ने भन्दै चिन्ता व्यक्त गरिएको थियो। यद्यपि ट्रम्पले युएस स्टिल विदेशी नियन्त्रणमा नरहने र लगानी अमेरिकीमै केन्द्रित हुने दाबी गर्दै आएका छन्।


बुधवार, रोयटर्सको प्रतिवेदन अनुसार, निप्पन स्टिलले अमेरिकामा १४ अर्ब अमेरिकी डलर लगानी गर्ने तयारी गरेको छ, जसमा करिब ४ अर्ब डलर नयाँ स्टिल मिल निर्माणका लागि छुट्याइएको बताइएको छ।
सन् १९०१ मा स्थापना भएको युएस स्टिललाई एक समय अमेरिकी आर्थिक तथा औद्योगिक उन्नतिको प्रतीक मानिन्थ्यो। यो संसारको पहिलो एक अर्ब अमेरिकी डलर मूल्यांकन भएको उद्योग मानिन्छ। यद्यपि दोस्रो विश्वयुद्धपछि यसको प्रभाव क्रमशः घट्दै गएको थियो। हाल यस कम्पनीमा १४ हजार कामदार छन्, जसमा ११ हजार मजदुर यूनियनका सदस्य हुन्।
अमेरिकी स्टिलले राष्ट्रपति ट्रम्पप्रति आभार व्यक्त गर्दै उनलाई “बोल्ड र दूरदर्शी नेतृत्वकर्ता” को रूपमा चित्रण गरेको छ। कम्पनीका अनुसार, यो सहकार्यले युएस स्टिललाई पुनः विश्वको अग्रणी स्टिल उत्पादक बनाउने सम्भावना उजागर भएको छ।


















