
अत्तरियाः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि आवश्यक बजेट सुनिश्चित गर्न राष्ट्रिय सभा सदस्यहरूसँग छलफल गरेका छन्।

शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित छलफलमा राष्ट्रिय सभा सदस्यहरूसँगै विश्वविद्यालय स्थापनार्थ गठन गरिएको संघर्ष समितिको सहभागिता रहेको थियो। छलफलमा मुख्यमन्त्री शाहले विश्वविद्यालय स्थापनालाई प्रदेशको स्वास्थ्य, शिक्षा तथा समग्र विकाससँग जोड्दै यसलाई संघीय सरकारले प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याए।
उनले सहिद दशरथ चन्दको योगदानलाई सम्मान गर्दै उनको नाममा विश्वविद्यालय स्थापनाले सुदूरपश्चिमका जनतामा विश्वास र गर्वको भावना थप मजबुत हुने बताए। साथै, सुदूरपश्चिमको भौगोलिक विकटता र सेवाको न्यून पहुँचलाई ध्यानमा राख्दै प्रदेशमै स्वास्थ्य जनशक्ति उत्पादन र सेवा प्रवाहको आवश्यकता औँल्याउँदै केन्द्र सरकारसँग समन्वय गर्दै आवश्यक बजेट व्यवस्थापनको प्रतिबद्धता व्यक्त गरे।


संघर्ष समितिका प्रतिनिधिहरूले विश्वविद्यालय स्थापनाको माग लामो समयदेखि उठ्दै आएको र अहिलेको अवसरलाई गुम्न नदिइनु पर्ने बताएका थिए। छलफलमा सहभागी राष्ट्रिय सभा सदस्यहरूले विश्वविद्यालय स्थापनालाई आफ्ना तर्फबाट संसद्मा उठाउने प्रतिबद्धता जनाए।
यसअघि सरकारले डडेल्धुरामा विश्वविद्यालय स्थापना गर्ने घोषणा गरिसकेको भए पनि बजेट र संरचनाको अभावमा प्रक्रिया अघि बढ्न सकेको छैन।


















