
अत्तरियामा अवस्थित दुग्ध वितरण आयोजना (डीडीसी) लाई अन्यत्र सार्ने प्रयासविरुद्ध स्थानीयको विरोध चर्किंदै गएको छ। स्थानीयले आयोजना सार्न नहुने भन्दै चार दिनदेखि कार्यालयमा तालाबन्दी गर्दै आन्दोलन गरिरहेका छन्।

बिहीबार (जेठ ८) मा डीडीसी संरक्षण संघर्ष समिति गठन गरी आन्दोलन थालेका स्थानीयले कार्यालय प्रमुखको कार्यकक्षमा ताला लगाएका हुन्। तर, अहिलेसम्म न कार्यालय प्रमुख, न स्थानीय सरकार, न प्रहरी प्रशासनले समाधानका लागि पहल गरेको स्थानीयको गुनासो छ।
स्थानीय भीम विकले अत्तरियामै डीडीसीलाई स्थायी रूपमा राख्न चाहना महिला सामुदायिक वनबाट जग्गा उपलब्ध गराउने निर्णय भइसकेको जानकारी दिए। उनले डीडीसी स्थापना भएदेखि नै सामुदायिक वनका २०–२५ जना उपभोक्ताले रोजगारी पाएको बताए।

स्थानीय राजु विकले २०६३ सालमै अत्तरिया उपयुक्त स्थान ठहर गर्दै डीडीसी स्थापना गरिएको स्मरण गराउँदै हालैको सार्ने योजना अनावश्यक र अपारदर्शी भएको टिप्पणी गरिन्। उनले यस विषयमा स्थानीय जनप्रतिनिधिको चासोको अभावप्रति आक्रोश व्यक्त गरिन्।

बुद्धिराम चौधरीले सुरुमा डीडीसी आफैँको घरमा सञ्चालन भएको र पछि कृषि थोक बजारमा सारिएको जनाउँदै, हालका कार्यालय प्रमुख निरञ्जन भट्टराईले व्यक्तिगत स्वार्थका लागि आवास समेत सारिएको आरोप लगाए।
संघर्ष समितिका संयोजक लोकराज पाण्डेले कृषि मन्त्रीलगायत उच्च निकायहरूलाई ध्यानाकर्षण गराइएको बताउँदै डीडीसी अत्तरियाबाट सार्न नपाइने अडान दोहोर्याए। उनले आन्दोलन चर्किंदै जाँदा पनि सरकारी निकाय मौन बसेको गुनासो गरे।
गोदावरी नगरपालिकाका प्रवक्ता तथा कार्यदल संयोजक गोपाल दत्त भट्टका अनुसार, पुस महिनादेखि डीडीसीका लागि जग्गा खोजी भइरहेको थियो। तर, प्रक्रिया जारी रहँदा कार्यालय प्रमुखले धनगढी सार्ने निर्णय एकपक्षीय रूपमा गरेका कारण स्थानीय आक्रोशित भएका हुन्।



















