मुस्लिम समुदायमा सशक्तीकरण आवश्यक : प्रदेश प्रमुख मियाँ

Image
Nisarga Hospital

अत्तरिया : सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले मुस्लिम समुदायको सशक्तीकरण अपरिहार्य रहेको बताएका छन्। सोमबार धनगढीमा आयोजित मुस्लिम जागरण तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले संविधान जारीपछि मुस्लिम समुदायले महत्त्वपूर्ण अधिकार प्राप्त गरेको बताए।

CP Hospital Dhangadhi

उनले अब ती अधिकारलाई संस्थागत गर्दै समुदायको जीवनस्तर उकास्न आवश्यक रहेको धारणा व्यक्त गरे। नेपाल बहु धार्मिक, बहु-जातीय, बहु-भाषिक र बहुसांस्कृतिक देश भएकाले सबै समुदायबीच पारस्परिक सम्मान र सद्भाव आवश्यक रहेको पनि प्रदेश प्रमुख मियाँले उल्लेख गरे।

कार्यक्रम धनगढी–१ स्थित धर्मोदय सभा शाखाको बुद्ध विहारमा सम्पन्न भएको हो। कार्यक्रममा मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले मुस्लिम समुदायमा देखिएका समस्या समाधान गर्न आयोग प्रतिबद्ध रहेको बताए। नुरी जामे मस्जिद सङ्घ अध्यक्ष डा.मेराज आलम अन्सारीले आर्थिक, सामाजिक र सांस्कृतिक सशक्तीकरणमा जोड दिनुपर्ने बताए। महिलाको नेतृत्व विकास र समावेशी नीति आवश्यक रहेको उनको भनाइ थियो।

nawajiwan
Attariya Hospital

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमालले बौद्ध विहारमा मुस्लिम समुदायको कार्यक्रम आयोजना हुनु धार्मिक सहिष्णुताको उत्कृष्ट उदाहरण भएको बताए। अर्का वक्ता मस्कुर अहमदले मुस्लिम समुदायमा शिक्षाको गुणस्तर सुधार गर्नु आजको आवश्यकता भएको बताए।

कार्यक्रमका सहभागीहरूले मदरसाको स्तरोन्नति, मुस्लिम नागरिकताको समस्या, शिक्षा तथा स्वास्थ्यमा पहुँच अभाव र लागू औषध प्रयोग बढिरहेको जस्ता विषयमा आवाज उठाएका थिए। आयोगले यी समस्याहरू समाधानका लागि पहल गर्ने जनाएको छ। त्यसै आजै सुदूरपश्चिम प्रदेश प्रमुख मियाँले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पनि बुझेका छन्। सुदूरपश्चिम प्रदेश प्रमुख कार्यालयमा आयोजित कार्यक्रममा कार्यवाहक अध्यक्ष अलीले आर्थिक वर्ष २०८०\०८१ को प्रतिवेदन प्रदेश प्रमुखलाई हस्तान्तरण गर्दै आयोगका क्रियाकलाप, उपलब्धि र आगामी योजनाबारे जानकारी गराएका थिए।

प्रदेश प्रमुख मियाँले प्रतिवेदन मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत प्रदेश सभामा छलफलका लागि पेश गरिने जानकारी दिए। यस्ता प्रतिवेदनहरू नीति निर्माणमा मार्गदर्शक बन्न सक्ने उनको विश्वास थियो। कार्यक्रममा निमित्त सचिव शेखर कुमार रोकाया, प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अली, अधिकृतहरू शमशेर बहादुर रावल, दीर्घराज भट्ट, कानुन अधिकृत पूजा रतौकी लगायतको उपस्थिति रहेको थियो।

# ट्रेण्डिङ