
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको गृह जिल्ला बैतडीमा संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ। जिल्लाका सबै ८४ वडामा संगठन विस्तार गर्ने लक्ष्यसहित वडा समिति गठनको कार्य अगाडि बढाइएको राप्रपा बैतडीका अध्यक्ष इन्द्रदेवशरण भट्टले जानकारी दिए।

राप्रपाका सम्पर्क समाज समन्वय विभाग सदस्य केशव चन्दका अनुसार हालसम्म ५० वडामा नयाँ समिति गठन भइसकेको छ। उनले पार्टीप्रति नागरिकको आकर्षण पछिल्ला दिनमा उल्लेखनीय रूपमा बढेको दाबी गरे।
अध्यक्ष भट्टले भने, “हिन्दू राज्य पुनःस्थापना र संवैधानिक राजतन्त्रको हाम्रो एजेण्डाप्रति नागरिकको सहमति बढ्दै गएको छ। नागरिकलाई बुझाइरहेका छौं र पार्टीप्रति आकर्षण बढिरहेको देखिन्छ।”


वडा समिति विस्तार अभियानको सुरुवातकै लागि पूर्वमन्त्री तथा राप्रपाका नेता जयन्तबहादुर चन्द बैतडी पुगेका थिए। त्यसपछि राप्रपाका युवा नेता तथा अभिनेता भूपेन चन्दको समेत सहभागितामा अभियान थप सक्रिय बनाइएको हो।
राप्रपाले प्रत्येक वडामा समिति गठनपछि पालिकास्तरका समितिहरू बनाउने योजना अघि सारेको छ। बैतडी जिल्लामा संगठन विस्तारसँगै राप्रपाले आफ्नो प्रभाव र सक्रियता दुबैले बलियो बनाउने विश्वास व्यक्त गरेको छ।




























