
‘भौतिक र पेशागत सुरक्षासहित पत्रकारको सम्मानजनक पहिचान’ भन्ने मूल नाराका साथ नेपाल प्रेस युनियनले आज आफ्नो ३४औँ स्थापना दिवस देशभर विविध कार्यक्रम गरी मनाएको छ।

यस अवसरमा धनगढीमा नेपाल प्रेस युनियन कैलाली शाखाको आयोजनामा तथा सुदूरपश्चिम प्रदेश समितिको समन्वयमा दीप प्रज्वलन गर्दै स्थापना दिवस विशेष कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा युनियनका केन्द्र, प्रदेश र जिल्ला तहका वर्तमान तथा पूर्व पदाधिकारीहरूको उपस्थिति रहेको सचिव शंकर बोहराले जानकारी दिए।


दीप प्रज्वलन कार्यक्रमका संयोजक तथा युनियन कैलाली शाखाका अध्यक्ष सीताराम ओझाले विगत ३४ वर्षदेखि स्वतन्त्र पत्रकारिताको पक्षमा युनियनले गर्दै आएको संघर्षको स्मरण गर्दै प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा र पहिचानका लागि अझ सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
नेपाल प्रेस युनियनले विभिन्न कालखण्डमा भएका आरोह-अवरोहका बाबजुद पत्रकारको हकहित र प्रेस स्वतन्त्रताको पक्षमा निरन्तर संघर्ष गर्दै आएको उल्लेख गरिएको छ।



















