
अमेरिकी स्वास्थ्यमन्त्री रोबर्ट एफ. केनेडी जूनियरले स्वस्थ बालबालिका र स्वस्थ गर्भवती महिलाहरूका लागि कोभिड–१९ विरुद्धको खोप सिफारिस नगर्ने घोषणा गरेका छन्।

गत हप्ता अमेरिकी खाद्य तथा औषधि प्रशासन (FDA) ले कोभिड खोपको सिफारिस ६५ वर्ष वा सोभन्दा बढी उमेरका वयस्क र स्वास्थ्य समस्या भएका युवाहरूमा मात्र सीमित गर्ने निर्णय गरेपछि यो परिवर्तन आएको हो।
केनेडीको यो कदम बेलायत, जर्मनी, र फ्रान्स जस्ता मुलुकहरूको नीतिसँग मेल खाने प्रयासका रूपमा हेरिएको छ, जहाँ बुस्टर खोपहरू केवल वृद्ध र कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिका लागि मात्र सिफारिस गरिन्छ।

केनेडीले सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गरिएको भिडियोमार्फत भने, “आजदेखि स्वस्थ बालबालिका र गर्भवती महिलाहरूका लागि कोभिड खोप सिफारिस गरिएको CDC तालिकाबाट हटाइएको छ, र यो घोषणा गर्न पाउँदा म खुशी छु।”

उनको निर्णयलाई लिएर स्वास्थ्य क्षेत्रका विज्ञहरूले आलोचना पनि गरेका छन्। जोन्स हप्किन्स युनिभर्सिटीका संक्रामक रोग विशेषज्ञ अमेश अदालजाले बाल्यावस्थाको नियमित खोप तालिकामा कोभिड खोपलाई समावेश गर्नुपर्ने बताएका छन्।
त्यस्तै, फिलाडेल्फियाको चिल्ड्रेन हस्पिटलका शीर्ष खोप विशेषज्ञ पल अफिटले बुस्टर खोपको पहुँचमा असर पर्ने चेतावनी दिएका छन्, विशेषगरी अमेरिकाको निजी स्वास्थ्य प्रणालीमा।
यद्यपि, CDC को वेबसाइटमा मंगलबार बिहानसम्मका विवरणअनुसार गर्भवती महिलाहरूलाई कोभिड खोप ‘विशेषगरी महत्त्वपूर्ण’ समूहका रूपमा सिफारिस गरिँदै आएको छ। यसले CDC नीति अद्यावधिक हुने संकेत गरेको छ।
FDA का अनुसार ६५ वर्षभन्दा कम उमेरका स्वस्थ व्यक्तिहरूमा खोपको प्रयोग अनुमोदन गराउन चाहने खोप निर्माता कम्पनीहरूले अब नयाँ क्लिनिकल परीक्षणहरू गर्नुपर्नेछ।


















