
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध रोक्ने कुनै संकेत नदेखाई युक्रेनमाथि आक्रमण तीव्र बनाएको प्रतिक्रियास्वरूप अमेरिका, बेलायत, फ्रान्स र जर्मनीले युक्रेनमाथि हतियार प्रयोगमा लगाएका दुरीसम्बन्धी सबै प्रतिबन्ध हटाएका छन्। जर्मन चान्सलर फ्रेडरिक मर्जका अनुसार अब युक्रेनले पश्चिमा देशहरूले दिएको कुनै पनि हतियार रूसी भूमिमा प्रयोग गर्न सक्नेछ।


यसअघि युक्रेनले रूसी भूमिमा आक्रमण गर्न सक्ने डरले पश्चिमा राष्ट्रहरूले हतियार प्रयोगमा दूरीका सर्त राख्दै आएका थिए। तर अब ती सर्त हटाइएसँगै युक्रेनले रूसभित्र रहेका सैन्य संरचनामाथि सीधा आक्रमण गर्न सक्छ।
अहिलेसम्म अमेरिका, बेलायत र फ्रान्सले युक्रेनलाई ३०० किलोमिटरसम्म प्रहार गर्न सक्ने मिसाइलहरू उपलब्ध गराइसकेका छन्। जर्मनीबाट युक्रेनले मागेको ५०० किलोमिटर क्षमताको टोरस मिसाइल पनि सम्भवतः दिइएको अनुमान गरिएको छ।
रूसले भने यो निर्णयले शान्ति वार्तामा बाधा पार्ने चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले पुटिनसँग लामो संवाद गरे पनि युद्धविराममा सहमति हुन सकेन। रूस अझ आक्रमक बनेको छ भने युरोपेली युनियनले नयाँ प्रतिबन्ध लगाएको छ। अहिले पश्चिमा राष्ट्रको नीति स्पष्ट छ—रूसको सामना गर्न युक्रेनलाई पूर्ण सैनिक स्वतन्त्रता दिइएको छ।



















