महाकाली नदीको बाढीले क्षति पु‍र्‍याएको गाइडबन्ड पुनर्निर्माणमा नेपाली सेना खटियो

Image
Nisarga Hospital

महाकाली नदीको बाढीले गत वर्ष भत्काएको चार लेनको पक्की पुलको गाइडबन्ड पुनर्निर्माणको जिम्मा नेपाली सेनाले लिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसपछि मन्त्रिपरिषद्‌को निर्णयअनुसार सेनाले गाइडबन्ड पुनर्निर्माणसँगै नदीलाई बीच भागबाट बगाउने गरी च्यानलाइजेसनको कार्य अघि बढाएको हो। जेठ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले पुलको दुवैतर्फ क्षति पुगेको क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्दै सेनालाई जिम्मेवारी तोकेको थियो।

CP Hospital Dhangadhi

हाल सेनाका इन्जिनियर र प्राविधिकसहितका टोली निर्माणस्थलमा खटिएका छन्। बिहानदेखि साँझसम्म तीव्र गतिमा काम भइरहेको छ। यसबाट महाकाली नदी किनारका बासिन्दाहरूलाई सम्भावित बाढीको जोखिमबाट राहत मिल्ने अपेक्षा गरिएको छ। इन्जिनियर विभाग प्रमुख सेनानी निसान्त पण्डित क्षेत्रीका अनुसार, “हामीले एक महिनाभित्र निर्माण कार्य सक्ने लक्ष्य लिएका छौं, मौसम अनुकूल भएमा यो सम्भव छ।”

पुल आयोजनाको स्वीकृत डिजाइनअनुसार सेनाले काम अघि बढाइरहेको छ। निर्माणमा ३ देखि ५ सय जनशक्ति र १८–२० युनिट उपकरण जस्तै ब्याकहोलोडर, टिप्पर आदि प्रयोग भइरहेको छ। विगत वर्षको भदौ महिनामा आएको बाढीले पूर्वतर्फको गाइडबन्ड बगाएको थियो। त्यतिबेला भेरिएसन प्रक्रिया पूरा नभएकाले मर्मत सम्भव भएको थिएन।

nawajiwan

स्वीकृत योजनाअनुसार पुलको दुवैतर्फ ६ सय मिटरको चौडाइमा र २८/२८ सय मिटर लम्बाइमा पोखरी निर्माण गर्नुपर्नेछ। सुरुवातमा ठूला ढुंगाबाट गाइडबन्ड बनाउने योजना थियो, तर अपेक्षित परिमाणमा ठूला ढुंगा नपाइएपछि डिजाइन परिवर्तन गरी पलम्ब कंक्रिट प्रयोग गरिएको हो।

Attariya Hospital

गाइडबन्ड निर्माणका लागि आवश्यक २ सय ६२ मिटर पुनःनिर्माण र २६ सय मिटर नदीको प्रवाह परिवर्तन गर्नुपर्नेछ। बर्खा नजिकिँदै जाँदा जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले क्षेत्रलाई संकटग्रस्त घोषणा गरेको थियो। सोही आधारमा गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्‌ले जेठ ६ मा निर्णय गरी सेनालाई कामको जिम्मेवारी दिएको हो। जेठ ९ गतेदेखि काम औपचारिक रूपमा सुरु भएको हो।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार, यो कार्यका लागि अनुमानित लागत १९ देखि २९ करोड रुपैयाँसम्म पुग्नेछ। हाल पहिलो चरणमा ९ करोड रुपैयाँ विनियोजन गरिएको छ। ढकालका अनुसार, “समयमै काम सक्नुपर्छ, अहिले उपकरणको अभाव देखिएको छ, निजी क्षेत्रका उपकरणहरू माग अनुसार उपलब्ध छैनन्।”

चार लेनको पक्की पुल निर्माण सकिएको छ भने गड्डाचौकीदेखि दोधारा–चाँदनीको मलेरिया नालासम्म ८ किलोमिटरको पहुँच मार्गको काम अन्तिम चरणमा पुगेको छ। पोखरी निर्माणको काम भने डिजाइन अलमलमा परेपछि ढिलो भइरहेको छ।