
बुधवार सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गरेको ‘नीति तथा कार्यक्रम तथा लगानी–विकास सम्मेलन २०८२’ सम्बन्धी भर्चुअल संवादमा प्रवासी नेपालीहरूले सुदूरपश्चिमको समृद्धिका लागि लगानी गर्न तयार रहेको जनाएका छन्।

सम्मेलनको तयारीस्वरूप आयोजित उक्त भर्चुअल छलफलमा अमेरिका, क्यानडा, दक्षिण अफ्रिका, अष्ट्रेलिया, रसियालगायत विभिन्न देशमा व्यवसाय गर्दै आएका एनआरएन (गैरआवासीय नेपाली) हरूको सहभागिता रहेको थियो। कार्यक्रममा उनीहरूले प्रदेशमा लगानीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।
प्रदेश सरकारले सल्लाह लियो, प्रवासीले सुझाव दिए
विभिन्न क्षेत्रका विज्ञहरूसँगको परामर्शपछि सुदूरपश्चिम प्रदेश सरकारले प्रवासी नेपालीहरूसँग प्रत्यक्ष संवाद गर्दै लगानी भित्र्याउने उपायबारे सुझाव संकलन गरेको हो। सहभागिहरूले आवश्यक पूर्वाधार, स्पष्ट नीति, र लगानी सुरक्षाको ग्यारेन्टी भएमा सुदूरपश्चिममा ठूला पूँजी भित्रिन सक्ने विश्वास व्यक्त गरे।


मुख्यमन्त्रीको आह्वान : “अब आफ्नो भूमिमा लगानी गरौँ”
प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विदेशमा कमाएको पुँजी, सीप र अनुभवलाई अब आफ्नै भूमिको उन्नतिमा प्रयोग गर्न प्रवासी नेपालीहरूलाई आग्रह गरे। “प्रदेश सरकार लगानीमैत्री वातावरण बनाउन पूर्णतः तयार छ,” उनले भने, “साथै तपाईँहरूको योगदानले सुदूरपश्चिम समृद्धिको यात्रामा तीव्र गति लिन सक्छ।”
सुदूरपश्चिम प्रदेश सरकारले यही असोज १ र २ गते लगानी सम्मेलन आयोजना गर्ने तयारी गरेको छ। त्यसको पूर्वतयारीस्वरूप भदौ २१ गते ‘प्री-समिट’ गरिने भएको छ। सम्मेलनमार्फत घरेलु र विदेशी लगानीकर्तालाई प्रदेशको सम्भावनाबारे जानकारी दिँदै व्यवहारिक लगानी आकर्षण गर्ने लक्ष्य लिइएको छ।


















