
सुदूरपश्चिमको गोदावरी नगरपालिका–४ मा ‘कोसेली रेस्टुरेन्ट’ नामक नयाँ र आकर्षक रेस्टुरेन्ट सञ्चालनमा आएको छ। समयानुकूल सेवा र वातावरणसहित सञ्चालनमा ल्याइएको यो रेस्टुरेन्टले पर्यटन, उद्यमशीलता र युवाको सिर्जनशीलतालाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

लगभग १० लाख रुपैयाँको लगानीमा युवा व्यवसायी योगेन्द्रराज भट्टको अगुवाइमा सञ्चालनमा ल्याइएको कोसेली रेस्टुरेन्टले ‘देशमै केही गर्न सकिन्छ’ भन्ने दृष्टिकोण बोकेको छ। भट्टका अनुसार, यो रेस्टुरेन्ट युवालाई विदेश रोजगारीको विकल्प स्वरूप स्वदेशमै उद्यम गर्न प्रेरणा दिने प्रयास हो। “यो हाम्रो सानो प्रयास हो — सुदूरपश्चिमको समृद्धि र पर्यटन विकासमा टेवा पुर्याउने,” उनले भने।

रेस्टुरेन्टमा आकर्षक सजावट, पारिवारिक जमघटका लागि उपयुक्त स्थान, मेटिङ्ग कक्ष, शोभायुक्त विश्रामस्थल जस्ता सुविधा उपलब्ध छन्। ग्राहकको स्वाद र आवश्यकतालाई ध्यानमा राख्दै स्थानीय र आधुनिक परिकारहरू प्रस्तुत गर्ने गरिएको छ। शुद्धता, सफाइ र आरामदायी वातावरण रेस्टुरेन्टको प्रमुख विशेषता हो।

गोदावरी क्षेत्र घुम्न आउने पर्यटक, खाजाका सौखिन तथा व्यवसायिक भेटघाटका लागि शान्त र स्वच्छ वातावरण खोज्नेहरूमाझ ‘कोसेली’ उपयुक्त गन्तव्य बन्ने अपेक्षा गरिएको छ। भविष्यमा सेवा विस्तार गर्दै पर्यटन प्रवर्द्धनमा थप योगदान गर्ने योजना रहेको बताइएको छ।



















