
दुग्ध विकास संस्थान संरक्षण संघर्ष समितिले अत्तरियास्थित दुग्ध विकास संस्थान (डीडीसी) को संरक्षण र स्थायीत्वको माग गर्दै सामाजिक विकास समितिका सभापति माननीय धर्मराज पाठकज्यूलाई औपचारिक ज्ञापन पत्र बुझाएको छ।

ज्ञापन पत्र बुझाउने कार्यक्रममा प्रदेश सांसदहरू तुलसी देवकोटा, जानकी पौडेल, खेमा बिष्ट तथा कृषि मन्त्री वीर बहादुर थापाको विशेष उपस्थित रहेको थियो।
ज्ञापन पत्रमार्फत संघर्ष समितिले डीडीसी अत्तरियाको कार्यालय, कारखाना र गोदामहरू कृषि उपज थोक बजार व्यवस्थापन समितिको भवनमा भाडामा सञ्चालन भइरहेको उल्लेख गर्दै हालसम्म आफ्नै स्वामित्वको जग्गा प्राप्त नहुँदा संस्थाको अस्तित्व नै संकटमा परेको बताइएको छ।


संघर्ष समितिका अनुसार हाल डीडीसीलाई धनगढी उपमहानगरपालिका–१५, कनरी गाउँतर्फ स्थानान्तरण गर्ने योजना बनिएको सूचनाले स्थानीयहरू चिन्तित छन्। यसबारे संस्थाले गरेको सम्भावित सम्झौता तत्काल खारेज गरी अत्तरियामै संस्थालाई जग्गा उपलब्ध गराई स्थायी रूपमा सञ्चालन गरिनुपर्ने माग ज्ञापन पत्रमा गरिएको छ।
संघर्ष समितिका संयोजक लोकराज पाण्डे र सचिव विक्रम विष्टले हस्ताक्षर गरेको उक्त ज्ञापन पत्रमा माग सम्बोधन नभएमा स्थानीय तहबाट अझ सशक्त आन्दोलनको कार्यक्रम घोषणा गरिने चेतावनी पनि दिइएको छ।
स्थानीय सरोकारवाला र नागरिक समाजले संस्थाको संरक्षणका लागि सकारात्मक पहल गर्न तीनै तहका सरकारहरूसँग आग्रह गरेका छन्।
















