
बङ्गलादेशको राजधानी ढाका पछिल्लो समय तीव्र राजनीतिक अस्थिरताको चपेटामा परेको छ। सन् २०२४ को अगस्टमा शेख हसिनाको सत्ता अन्त्यपछि सत्ता सम्हालेको अन्तरिम सरकार र विभिन्न विरोधी समूहबीचको तनावका कारण दैनिक जनजीवन अस्तव्यस्त बनेको हो।

पूर्वप्रधानमन्त्री हसिनाको १५ वर्ष लामो सत्ता पतनपछि सुरू भएको विद्यार्थी आन्दोलनले मुलुकमा नयाँ राजनीतिक तरंग ल्याएको थियो। हाल देशका प्रमुख सहरहरूमा प्रदर्शन, ¥याली, हड्ताल र भिडन्त दैनिकजसो भइरहेका छन्।
बुधबार मात्र ढाकामा आधा दर्जनभन्दा बढी समूहले आ–आफ्ना मुद्दा उठाउँदै प्रदर्शन गरे। ढाका भित्रका मुख्य सडकहरू अवरुद्ध भएपछि जनसाधारण घन्टौँ जाममा फस्न बाध्य भए।

जमात–ए–इस्लामीका वरिष्ठ नेता एटीएम अजहरूल इस्लामलाई अदालतले मृत्युदण्ड उल्टाएर रिहा गरेपछि उनका समर्थकले राजधानीका विभिन्न ठाउँमा खुसीयाली मनाएका छन्।

यता, वामपन्थी दलहरूले भने इस्लामको रिहाइविरुद्ध प्रदर्शन गर्ने घोषणा गरेका छन्। बीएनपी समर्थकहरूले समेत सरकारविरुद्ध विशाल र्याली निकाल्दै नयाँ निर्वाचनको माग गरिरहेका छन्।
राजनीतिक संकटबीच सरकारले सन् २०२६ को जुनभित्र निर्वाचन गर्ने प्रतिबद्धता जनाएको छ। तर सुरक्षाको अवस्था कमजोर बन्दै गएको भन्दै सर्वसाधारण चिन्तित छन्।
एक गृहिणीले भनिन्, “अहिले म पतिलाई बारम्बार फोन गर्छु, राति घर ढिला भए मनमा डर लाग्छ।”
नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुस नेतृत्वमा रहेको अन्तरिम सरकारले ‘अनुचित माग’ र ‘राजनीतिक अवरोध’ कार्यक्षमता कमजोर बनाइरहेको चेतावनी दिएको छ।


















