
सरकारले नेपाली चलचित्र उद्योगको प्रवर्द्धन तथा गुणस्तर सुधारका लागि आगामी आर्थिक वर्ष २०८२/८३ मा इन्डोर र आउटडोर स्टुडियो निर्माणको योजना अघि सारेको छ। बिहीबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो जानकारी दिएका हुन्।

उनका अनुसार चलचित्र छायाङ्कनका लागि आवश्यक पूर्वाधार तयार गर्न सरकार निजी क्षेत्रलाई प्रोत्साहन गर्नेछ। इन्डोर तथा आउटडोर दुवै प्रकारका स्टुडियो निर्माणका लागि लगानीमैत्री वातावरण सिर्जना गरिने र नीतिगत सहजता प्रदान गरिने अर्थमन्त्री पौडेलले बताए।
सरकारको यो योजनाले नेपाली चलचित्र उद्योगलाई व्यावसायिक र प्राविधिक रूपमा सशक्त बनाउने अपेक्षा गरिएको छ। विदेशमा निर्भर रहनु परेका छायाङ्कन कार्यहरू अब स्वदेशमै सम्भव हुने वातावरण बनाउने लक्ष्य लिइएको छ।


यसका साथै, चलचित्र पर्यटनको विकास, रोजगारी सृजना, र देशको सांस्कृतिक पहिचान अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्य पनि यस योजनामा समेटिएको छ।
चलचित्र क्षेत्रका लागि पूर्वाधार निर्माणको यो पहलले सिर्जनात्मक उद्योगलाई गति दिने विश्वास गरिएको छ।
















