
सरकारले कैलालीको फाप्ला क्रिकेट रंगशालालगायत चारवटा रंगशालाको निर्माणका लागि आगामी आर्थिक वर्ष २०८२/८३ मा ४२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशका विभिन्न स्थानमा निर्माणाधीन प्रमुख रंगशालाहरूको कार्य अघि बढाउन बजेट व्यवस्था गरिएको जानकारी दिए।

उनका अनुसार, कैलालीको फाप्ला क्रिकेट रंगशाला, काठमाण्डौको मुलपानी क्रिकेट रंगशाला, मोरङको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालाका लागि उक्त बजेट छुट्याइएको हो।

सरकारले खेलकुद पूर्वाधार विस्तारमार्फत युवालाई खेल क्षेत्रमा आकर्षित गर्ने र खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ। फाप्ला रंगशालाको निर्माणले सुदूरपश्चिममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेल आयोजना गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।


















