
सरकारले डडेल्धुरा सहित चार स्थानमा सञ्चालित वा प्रस्तावित मेडिकल कलेजको पूर्वाधार निर्माणका लागि आगामी आर्थिक वर्ष २०८२/८३ मा २ करोड ५६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

बिहीबार संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले बर्दिबास, बुटवल, सुर्खेत र डडेल्धुरामा रहेको मेडिकल कलेजहरूको पूर्वाधार विकासलाई अगाडि बढाउन यो रकम छुट्याइएको जानकारी दिए।

स्वास्थ्य शिक्षा पहुँच बढाउन र क्षेत्रीय रूपमा सन्तुलित विकास गर्न सरकारले विभिन्न प्रदेशमा मेडिकल कलेजको निर्माण र सञ्चालनलाई प्राथमिकता दिएको छ। डडेल्धुरामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयअन्तर्गतको मेडिकल कलेज सञ्चालन गर्ने लक्ष्यसहित पूर्वाधार निर्माण कार्य भइरहेको छ।

यस बजेटले आवश्यक भवन, उपकरण तथा स्रोत व्यवस्थापनका लागि टेवा पुर्याउने अपेक्षा गरिएको छ। सरकारले आगामी वर्ष स्वास्थ्य शिक्षाको स्तरीयता वृद्धि र पहुँच विस्तारलाई प्राथमिकतामा राखेको छ।




























