
नेपाली सेनाले महाकाली नदी किनारमा तटबन्ध निर्माणको कार्य तीव्र रुपमा अगाडि बढाएको छ। सरकारको जेठ ६ गतेको मन्त्रीपरिषद् निर्णयअनुसार सेनाले जेठ ९ गतेदेखि चार लेनको महाकाली पुल आसपास नदीजन्य पदार्थ हटाई व्यवस्थापन गर्दै तटबन्ध निर्माण सुरु गरेको हो।

बाढीजन्य विपद् न्यूनीकरणका लागि अस्थायी नदी नियन्त्रण कार्य सेनामार्फत गराउने निर्णयसँगै हाल विभिन्न क्याम्पबाट तीन सय सैनिक परिचालन गरिएको छ। सन् २०८१ को बाढीमा भुजेल क्षेत्रमा बाँध भत्किएर बस्ती डुबानमा परेपछि नदी नियन्त्रणलाई उच्च प्राथमिकतामा राखिएको छ।

भुजेलस्थित महाकाली पुल छेउ भत्किएको २६५ मिटर गाइडबन्ड पुनर्निर्माण गर्दै खोलाको धार पुलको बिचतिर केन्द्रित गर्ने योजना अनुसार काम भइरहेको मेजर आकाश बस्नेतले जानकारी दिए। साइड इन्चार्ज इन्जिनियर निसानत पण्डित क्षेत्रीका अनुसार अहिले तटीय क्षेत्रमा पुनर्भरण कार्य भइरहेको छ।




















