
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत गर्ने तयारी गरेको छ। शुक्रबार साँझ ४ बजे बस्ने प्रदेश सभा बैठकको कार्यसूचीमा प्रदेश प्रमुख नजिर मियाँद्वारा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने उल्लेख छ।

संविधानअनुसार नीति तथा कार्यक्रम प्रदेश सभामा पेश हुनु अघिनै मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत हुनुपर्छ। यसैअनुसार मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार राति ११ बजेसम्म मन्त्रिपरिषद् बैठक चलाएका थिए। तर मस्यौदामा केही संशोधन आवश्यक परेकाले सो बैठकबाट स्वीकृति प्राप्त हुन सकेन।

मुख्यमन्त्री शाह आज बिहान पुनः मन्त्रिपरिषद् बैठक बोलाएर मस्यौदालाई अन्तिम रूप दिने र त्यसपछि सभा बैठकमा पेस गर्ने तयारीमा छन्। नीति तथा कार्यक्रममा समावेश विकास योजना, पूर्वाधार निर्माण, रोजगारी, शिक्षा तथा स्वास्थ्य लगायतका विषयमा ध्यान केन्द्रित गरिने अपेक्षा गरिएको छ।
































