
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई शुक्रबार तीन ठूला झट्का लागेका छन्— निकट सहयोगी एलन मस्कले सरकार छाडे, ‘रेकिप्रोकल ट्यारिफ’ अमेरिकी अदालतले असंवैधानिक ठहर गर्दै रोके, र रुसी राष्ट्रपति पुटिनले समर्थन अस्वीकार गरे।

टेस्ला तथा स्पेसएक्सका प्रमुख एलन मस्कले ‘सरकारी खर्च कटौती’ गर्ने उद्देश्यसहितको डीओजीई विभाग प्रमुखको रूपमा १३० दिनको सेवा दिएपछि राजीनामा दिएका हुन्। मस्कले सार्वजनिक रूपमै ट्रम्पको ‘बिग एन्ड ब्यूटीफुल बिल’को विरोध गर्दै यो विधेयकले आगामी दशकमा २.३ ट्रिलियन डलर घाटा पुर्याउने दाबी गरे।
यसैबीच, अन्तर्राष्ट्रिय व्यापार अदालतले ट्रम्पको ट्यारिफ नीति ‘कानूनविपरीत’ भन्दै रोक लगाएको छ। ट्रम्पले १०० भन्दा बढी देशमाथि ट्यारिफ लगाउने निर्णय ‘इन्टरनेशनल इमर्जेन्सी इकोनोमिक पावर एक्ट १९७७’ मार्फत लागू गर्न खोजेका थिए।


रुस–युक्रेन युद्धलाई लिएर पनि ट्रम्पको छवि कमजोर देखिएको छ। फेब्रुअरी २०२५ मा पुटिनसँग कुराकानी गरे पनि उनले युद्ध रोक्न सकेनन्। हाल रूस युक्रेनमाथि पूर्ण आक्रमणमा उत्रिएको छ।
मस्क र ट्रम्पबीचको सम्बन्ध बिग्रनुको कारणमा: यूएईमा एआई डेटा सेन्टरको ठेक्कामा एक्सएआईले हार्नु, ट्रम्प समर्थनका लागि मस्कले १०० मिलियन डलर नपठाउनु, र ट्रम्पको मन्त्री मार्को रुबियोसँगको बहस समेटिन्छन्। मस्कले अब टेस्ला, स्पेसएक्स र न्यूरालिंकमा ध्यान केन्द्रित गर्ने घोषणा गरेका छन्।
ट्रम्पले भने मस्कप्रति सद्भाव कायम रहेको जनाउँदै, उनलाई सल्लाहकारका रूपमा राख्ने इच्छा व्यक्त गरेका छन्।



















