
बैतडीको सुर्नया गाउँपालिकामा मिनी टाटा ट्रकको ठक्करबाट एक वृद्धको ज्यान गएको छ। सुर्नया गाउँपालिका–५ निवासी ८१ वर्षीय महावीर विष्टलाई सतबाझ–श्रीभाबर भित्री सडक खण्डमा ट्रक ब्याक गर्ने क्रममा ठक्कर दिँदा घटना भएको हो।

सुपप्र ०१–००१ क १८१३ नम्बरको मिनी टाटा ट्रकले विष्टलाई गम्भीर रूपमा घाइते बनाएको थियो। घाइते अवस्थामै विष्टलाई उपचारका लागि धनगढी ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
दुर्घटनापछि ट्रक र चालक सुर्नया गाउँपालिका–२, ग्वानीका ३१ वर्षीय मान सिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


स्थानियवासीहरूका अनुसार ट्रक ब्याक गर्दा चालकले पर्याप्त सावधानी नअपनाएको आशंका गरिएको छ। यस्ता लापरवाहीबाट मानव ज्यान जाने घटनाहरू बढ्दै गएकोप्रति स्थानीयले आक्रोश व्यक्त गरेका छन्।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको बताएको छ। मृतक विष्टप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारलाई न्याय दिन स्थानीयले कडा कारबाहीको माग गरेका छन्।





























