

डोटीको बोगटान फुड्सिल गाउँपालिका–२ निवासी राष्ट्रिय क्रिकेट खेलाडी लोकेश बमलाई उनकी गृहपालिकाले नगदसहित सम्मान गरेको छ।
बोगटान फुड्सिल गाउँपालिकाले ‘समृद्ध बोगटान अभियान’ अन्तर्गत आयोजित ‘मातृभूमि महोत्सव’ कार्यक्रममा बमलाई एक लाख ११ हजार ११ रुपैयाँसहित सम्मान गरेको हो। गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले क्रिकेटमार्फत बमले पालिकालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन उल्लेखनीय भूमिका खेलेकाले प्रोत्साहनस्वरूप सम्मान गरिएको जानकारी दिए।
सम्मान ग्रहण गर्दै बमले आफ्नो पालिकाको मायाले आफू उत्साहित भएको प्रतिक्रिया दिएका छन्।
धनगढी क्रिकेट एकेडेमीबाट क्रिकेट यात्रा सुरु गरेका बमले नेपाल यु–१९ टोली हुँदै सीनियर राष्ट्रिय टोलीसम्मको यात्रा तय गरेका छन्। उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिसकेका छन्।
































