
नेपाल पत्रकार महासंघ कैलाली शाखाले सञ्चार क्षेत्रका विभिन्न माग राख्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्कालाई मागपत्र बुझाएको छ । आइतबार महासंघ कैलाली शाखाका अध्यक्ष श्रवण देउवा सहितको नेतृत्वमा गएको कैलालीका पत्रकारका बिभिन्न पेशागत संगठनको टोलीले मन्त्री खड्का सहित मन्त्रालयका सचिव हेमराज रेग्मीलाई संयुक्त रुपमा विभिन्न चार बुँदे माग बुझाएका हुन् ।प्रदेश सरकार मातहतका अस्पतालहरुमा पत्रकारको उपचारमा कम्तीमा ५० प्रतिशत छुट दिने व्यवस्था गर्न माग गरिएको छ ।


त्यस्तै, पत्रकारहरुका लागि स्वास्थ्य सम्बन्धि क्षमता विकास गर्न तालिम, गोष्ठी सञ्चालन गर्न बजेट विनियोजन गर्नुपर्ने,स्वास्थ्य, शिक्षा, खेलकुद, श्रम आदि विषयमा पत्रकारलाई फेलोसिपका कार्यक्रमहरु बजेटमा समावेश गर्नुपर्ने र पत्रकारहरुका लागि स्वास्थ्य तथा दुर्घटना बिमाको लागि रकम विनियोजन गर्नुपर्ने माग पत्रमा उल्लेख छ ।
मागपत्र बुझ्दै मन्त्री खड्काले महासंघले राखेका माग पूरा गर्न सक्दो सहयोग गर्ने बताए । मागपत्र बुझाउने कार्यक्रममा महासंघका पदाधिकारीहरु, जिल्लास्थित पेशागत विभिन्न संगठन प्रेस युनियन कैलालीका अध्यक्ष सिताराम ओझा, प्रेस चौतारी कैलालीका अध्यक्ष जनक बिष्ट, प्रेस सेन्टर नेपाल कैलालीका अध्यक्ष सुरेन्द्र ताम्राकार सहितको पत्रकारको टोली गएका थिए ।
































