
अत्तरिया : गोदावरी नगरपालिका वडा नं.४ बुढीतोलामा रहेको लक्ष्मी माध्यमिक विद्यालयलाई आवश्यक सामग्रीहरु हस्तान्तरण गरिएको छ।

शनिबार एक कार्यक्रमको आयोजना गरी विद्यालयलाई बुढीतोलामा रहेको सेती सामुदायिक वन उपभोक्ता समितिले बैठक हलको लागी आवश्यक पर्ने फर्निचर सामग्रीहरु हस्तान्तरण गरेको हो। जसअन्तर्गत मिटिङ्ग टेबल, कुर्सी, सूचना पार्टी, कार्पेट लगायत २ लाख ७० हजार बराबरका सामग्रीहरु हस्तान्तरण गरिएको सामुदायीक वनका अध्यक्ष तिलक खनालले जानकारी दिए। अध्यक्ष खनालले विद्यालयलाई सञ्चालन गर्न आवश्यक सामग्रीहरु सहयोगमा निरन्तरतता दिँदै आइरहेको बताए।

यस्तै कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र रोकमगरले उक्त सामुदायिक वन संगको समन्वयले शिक्षा क्षेत्रको दिगो विकासमा योगदान पुर्याउने विश्वास लिईएको साथै विद्यालयलाई आवश्यक सामग्रीहरू हस्तान्तरण गरेको जसले शैक्षिक व्यवस्थापनमा थप सुधार ल्याउने विश्वास गरिएको बताए । उनले विगत लामो समयदेखि यस सामुदायिक वनले विद्यालयको विकास र समृद्धिका लागि विभिन्न प्रकारका सहयोगहरू गर्दै आइरहेको उल्लेख गरे । “सामुदायिक वनको निरन्तर सहयोगले विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार विकास अब्बल बनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ,” उनले भने ।

उनले हालै विद्यालयलाई हस्तान्तरण गरिएका सामग्रीहरूले शैक्षिक व्यवस्थापनका कार्यहरूमा थप सुधार ल्याउने आशा व्यक्त गर्दै स्थानीय स्तरमै यस्तो सहकार्यले गुणस्तरीय शिक्षामा टेवा पुग्ने विश्वास व्यक्त गरे।































