
अत्तरियाः कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. १ निवासी समाजसेवी स्वर्गीय मोहन साउदको वार्षिक पुण्यतिथिको अवसरमा उनकी छोरी तथा हाल युके लण्डनमा बसोबास गर्दै आएकी हरिना साउदले अत्तरियास्थित महिला तथा बालबालिका सेभ हाउसलाई खाद्यान्न सहयोग प्रदान गरेकी छिन्।

सामाजिक उत्तरदायित्व र मानव सेवामा प्रेरित हुँदै स्वर्गीय पिताको सम्झनामा गरिएको यो सहयोग कार्यले समुदायमा सकारात्मक सन्देश दिएको छ। सेभ हाउसमा रहेका आश्रित बालबालिकाहरूको दैनिकी सहज बनोस् भन्ने हेतुले हरिनाले विभिन्न खाद्यान्न सामग्रीहरू उपलब्ध गराएकी हुन्।
उक्त खाद्यान्न सामग्रीहरू मष्टाधाम व्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवी गणेश जिमी साउदको नेतृत्वमा सेभ हाउसकी अध्यक्ष जानकी मलासीलाई एक औपचारिक कार्यक्रमकाबीच हस्तान्तरण गरियो। कार्यक्रममा गणेश साउदले स्वर्गीय मोहन साउदको समाज सेवामा दिएको योगदानको चर्चा गर्दै उहाँको सम्झनामा यस प्रकारका सहयोग कार्यहरू निरन्तर भइरहनु आवश्यक रहेको बताए।



सेभ हाउसमा हाल ४० देखि ४५ जना बालबालिका तथा केही महिलाहरू आश्रय लिईरहेका छन्। ती बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण तथा संरक्षणको व्यवस्थापनमा सेभ हाउस निरन्तर क्रियाशील छ। अध्यक्ष जानकी मलासीले सहयोगप्रति आभार व्यक्त गर्दै समाजका अग्रज र युवाहरूबाट यस्ता सहयोगले संस्थाको सेवा विस्तारमा टेवा पुग्ने बताइन्।
युकेबाट हरिना साउदले टेलिफोनमार्फत प्रतिक्रिया दिँदै भनिन्, “बुबाको समाजसेवामा समर्पित जीवनले मलाई सँधै प्रेरणा दिएको छ। उहाँको पुण्य स्मृतिमा गरिएको यो सहयोग सानो प्रयास हो। आगामी दिनमा पनि सामाजिक सेवामा मेरो सक्दो योगदान रहनेछ।”
स्वर्गीय मोहन साउद जीवनभर सामाजिक न्याय, पीडितका हकअधिकार र सामुदायिक विकासमा सक्रिय रहनु भएका एक उदाहरणीय व्यक्तित्व थिए। उहाँको निधनले कैलाली क्षेत्रले एक असल समाजसेवी गुमाएको अनुभूति गरिएको थियो।
उनको सम्झनामा छोरी हरिनाले गरेका यस्ता कार्यहरूले समाजमा सकारात्मक ऊर्जा थप्ने विश्वास स्थानीयवासीहरूले व्यक्त गरेका छन्।


































